जापानका कृषिमन्त्री टाकु इटोले आफूले कहिल्यै चामल किन्नु नपरेको र आफ्ना समर्थकहरूले सधैँ आफूलाई “पुग्ने” गरी चामल कोसेली दिने गरेको भनी गरेको टिप्पणीले ठूलो विवाद निम्त्याएको छ। इटोले यो ‘ठट्टा’ ले मानिसहरूलाई हँसाउला भन्ने सोचेका थिए, तर यसको ठीक उल्टो भयो। उनको टिप्पणीले सर्वत्र आलोचना निम्त्याएपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका छन्। उनको यो बहिर्गमनले अल्पमतका प्रधानमन्त्री सिगेरु इशिबाको सरकारमाथि थप धक्का पुगेको छ।
जापानले पछिल्ला केही दशकदेखि जीवनयापनको खर्च चर्को रूपमा बढिरहेको समस्या सामना गरिरहेको छ, जसको प्रत्यक्ष असर मानिसहरूले सबैभन्दा धेरै उपभोग गर्ने खानेकुरा चामलमा परेको छ। गत वर्ष चामलको मूल्य दोब्बरले बढेको छ र देशमा आयातित धानको प्रजाति लगभग उपलब्ध छैन। यस्तो संवेदनशील समयमा मन्त्रीको गैरजिम्मेवार टिप्पणीले जनमानसमा आक्रोश बढाएको हो। आफ्नो अभिव्यक्तिबारे इटोले माफी मागे पनि विपक्षी पार्टीले अविश्वासको प्रस्ताव ल्याउने धम्की दिएपछि उनले राजीनामा दिनुपरेको हो।

जापानमा चामलको विषय ऐतिहासिक रूपमै संवेदनशील मानिन्छ। यसको अभावले विगतमा पनि राजनीतिक असन्तुष्टि जन्माएको थियो, सन् १९१८ मा चामलको मूल्य बढेसँगै भड्किएका हिंसाले जापानमा सरकार नै गिराएको इतिहास छ। त्यसैले, इशिबा नेतृत्वको सरकारको लोकप्रियता घट्नुमा चामलको बढ्दो मूल्य पनि प्रमुख कारण रहेकोमा कुनै अचम्म मान्नु पर्दैन। योकोहामाकी ३१ वर्षीया मेमोरी हिगुचीले बीबीसीसँग कुरा गर्दै “राजनीतिज्ञहरू सामान किन्न पसलमा जाँदैनन् त्यसकारण उनीहरूलाई थाहै हुन्न” भनी व्यंग्य गरेकी छन्। उनको सात महिनाकी छोरीलाई समेत चामल महत्त्वपूर्ण भएकाले मूल्यवृद्धिले आफूलाई चिन्तित बनाएको उनले बताएकी छन्।
इबाराकी विश्वविद्यालयका कृषि अर्थशास्त्री कुनिओ निशिकावाका अनुसार, यो माग र आपूर्तिको सामान्य विषय हो, जसमा सरकारी आकलन मेल नखाँदा समस्या आएको हो। सरकारी अनुमान सन् २०२३ र २०२४ मा मिल्न नसक्दा ६८ लाख टन माग हुने आकलन गरिए पनि वास्तविक माग ७० लाख टन पुगेको थियो। माग बढ्नुको कारण जापान घुम्न जाने पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धि र महामारीपछि घर बाहिर खाना खाने मानिसहरूको सङ्ख्या बढ्नु हो। यद्यपि, अस्वाभाविक उच्च तापक्रमका कारण चामलको उत्पादन घट्नुका साथै गुणस्तर पनि खस्किएको कृषि मन्त्रालयका एक प्रवक्ताले बीबीसीलाई बताएका छन्।
धान उत्पादनमा राम्रो नाफा नहुँदा युवा कृषकहरूले जनावरलाई खुवाउने धान उत्पादन रोज्न थालेका छन्। गत वर्षसम्म सस्तोमा चामल बेच्न बाध्य भएका कृषक सिनिया ताबुची अहिले ६० किलो चामलको मूल्य ४० हजार देखि ५० हजार जापानी येन पुग्दा अचम्ममा परेका छन्। यो मूल्यवृद्धि रेस्टुराँ र पसलेहरूका लागि नराम्रो भए पनि किसानहरूका लागि सुखद समाचार हो। सरकारले मूल्य नियन्त्रणका लागि सञ्चित भण्डारबाट चामल बिक्री गरे पनि मूल्य नघटेकोमा सर्वसाधारणमा आक्रोश बढेको छ। आगामी बर्खामा हुने राष्ट्रिय निर्वाचनलाई मध्यनजर गर्दै, विशेषगरी मतदानमा धेरै सहभागिता जनाउने पाका उपभोक्ता र कृषकहरूलाई फकाउनु इशिबा सरकारका लागि अझै महत्त्वपूर्ण चुनौती बन्ने देखिन्छ।
@bbc





