टोकियो, जापान – कास्की पोखरा समाज जापानले जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन तथा प्रचारात्मक कार्यक्रम’ भव्यताका साथ सम्पन्न गरेको छ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज तिवारीको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले अनलाइनमार्फत प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभएको थियो।
कार्यक्रममा थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन विशेष अतिथिको रूपमा उपस्थित हुनुभयो। साथै, कास्की पोखरा समाज जापानका पूर्वअध्यक्षहरू, संरक्षकहरू, सल्लाहकारहरू, र छिमेकी जिल्ला स्याङ्जाको ‘स्याङ्जा सहयोग समाज’ आईसीसीका अध्यक्ष वीरेन्द्रजंग क्षेत्री र उपाध्यक्ष मीन क्षेत्री लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य जापानमा रहेका नेपाली समुदायका साथै जापानी नागरिकहरूलाई पनि कास्की र पोखराको पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउनु थियो। जापानी नागरिकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो।
प्रमुख अतिथि धनराज आचार्यले पोखरा भ्रमण वर्ष लक्षित कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै विश्वभर छरिएर रहेका पोखरेलीहरू एकजुट भई आफ्नो जन्मभूमिको विकासमा आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथि बुद्धि गौचनले कास्की पोखरा समाज जापानले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै संस्थालाई हौसला प्रदान गर्नुभयो।
एनआरएनए जापानका अध्यक्ष नवीन न्युरेले पोखरा सहरलाई ‘अघोषित सदाबहार पर्यटन गन्तव्य’को रूपमा चर्चा गर्दै पोखराको पर्यटन प्रवर्द्धनमा सबैले मिलेर योगदान गर्नुपर्ने बताउनुभयो।
संस्थाका अध्यक्ष कमल बास्तोलाले जापानमा रहेका जापानी नागरिकहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नु आवश्यक रहेको औंल्याउनुभयो।
कार्यक्रमका सञ्चालक तथा महासचिव जीवन पोखरेल (कञ्चन) ले कास्की पोखरा समाज जापानले यो कार्यक्रम जापानमा मात्र नभई विश्वभर चर्चा पाउने गरी आयोजना गरेको बताउँदै आगामी दिनहरूमा अन्य देशहरूमा पनि यस्ता कार्यक्रम गरिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक मनोज तिवारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको मुख्य उद्देश्य जापानमा रहेका सबैलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नु रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहभागी एवं आयोजकहरूलाई धन्यवाद दिँदै औपचारिक रूपमा समापन गरिएको थियो।





