जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।
गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्वर ८ तारिखदेखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा उक्त सप्ताहव्यापी ज्ञान महायज्ञ हुन लागेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।

“ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको छ।” एनआरएनए अध्यक्ष लामिछानेले भने- जापानमा नेपालीहरुबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदैं आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो।
अध्यक्ष लामिछानेजा अनुसार एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको मुलभुत उद्देश्य भएता पनि नेपालीहरुबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने अर्को उद्देश्य रहेको बताए ।

एकिकृत नेपाली घरको परिकल्पना गरि उक्त कार्यको सुरुवात समेत गरेका एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरेले करिव ३ करोड येन बराबरको जमिन चिवा केनमा खरिद गर्ने काम सम्पन्न भईसकेको जानकारी दिँदै महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न जापानका सबै संघसंस्थाहरुको साथ, सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए ।

महायज्ञले नेपाली कला संस्कृतिलाई जापानमा प्रवर्दन गर्न र अर्को पुस्तालाई हाम्रो पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्वपूर्ण कदम हुने विश्वास आफूले लिएको वाचन प्रवीण दीनबन्धु पोखरेलको रहेको छ।

वाचन प्रवीण पोखरेलले नेपालको कल संस्कृतिलाई जापानमा लागेर मिनी नेपाल निर्माण गर्ने पवित्र उद्देश्यले टोकियोमा हुने एतिहासिक टोकियो सप्ताहमा उपस्थिति भै जीवन र जगतको बारेमा ज्ञान हासिल, आफ्नो मातृभूमिको सम्मान, पूर्वजहरुको विरासत कायम गर्नका निमित्त जापानवासी सबै भक्तजनलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन्।
अर्का बौद्ध धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले नेपालीहरूका बिचमा सामाजिक सत्भाव विकासका लागि यस महायज्ञ टोकियो सप्ताह एक कोशेढुंगा हुने विश्वास व्यक्त गरे। उनले यस पवित्र उद्देश्यले आयोजना गरिएको धार्मिक कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध समेत गरेका छन्।
सामाजिक व्यक्तित्व तथा एनआरएन आइसीसी उपाध्यक्ष रोविन शेरचनले डायस्पोरामा ठूलो बन्दै गईरहेको नेपाली कम्युनिटीलाई एकताको सूत्रमा आबद्ध गर्दै नेपाली कला, सँस्कृति, भेषभूषा एवं मौलिक परम्परालाई अक्षुण्ण राख्न एकीकृत नेपाली घरको अवधारणा अगाडि सारिएकोले यो अभियानमा जोडिन जापानबासी नेपालीहरुमा अपिल गरे ।
एनआरएन अभियान्ता एशिया महिला संयोजक अनिता गुरुङले शान्ति, सत्कर्म र सकारात्मक भाव उजागर गर्दै एक पुस्ताबाट अर्को पुस्ताबीचको अन्तरसम्बन्ध सुमधुर बनाउन पनि आध्यात्मिक ज्ञान आवश्यक रहेको बताईन् ।
सप्ताहब्यापी ज्ञान महायज्ञ ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु गरिने छ भने हरेक दिन पूजा पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण-वितरण गरिने एनआरएन स्रोतले जनाएको छ ।
महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले परिणाममुखी बनाउन विभिन्न उपसमितिहरुमार्फत कार्यविभाजन गरि तयारीलाई तिब्र पारिएको छ भने जापानका सरोकारवला एवं सम्बन्धित निकायहरुबाट लिनुपर्ने इजाजत र पूर्वानुमतिका लागि आवश्यक प्रक्रियाहरु भईरहेको बताईएको छ ।
@janahitnews

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय