म्हेन्दो लामा /ओकिनावा
जापानको ओकिनावामा भोली फेब्रुवरी २३ तारिख आयोजना हुन लागिरहेको दोस्रो नेपाल फेस्टिभलको भव्य तयारी सम्पन्न भएको छ ।

ओकिनावाको नाहा तोमारिमा रहेको जेआरएफको हलमा हिजो आयोजित पत्रकार समम्लेनको बिच दोस्रो ओकिनावा नेपाल फेस्टिभलको भव्य तयारी पूरा भएको बताईएको हो ।
हिजो साँझ आठ बजे करिब एक घण्टा भएको सम्मेलनमा सामाजिक,आर्थिक,भौतिक र सास्कृतिक लगायतका बिषयमा जानकारी गराइएको थियो। एनआरएनए ओकिनावा क्षेत्रीय समितिका संयोजक देवेन्द्र खड्काले फेस्टिभलका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
एनआरएनए ओकिनावाका संरक्षक तथा सल्लाहकार सञ्जीव श्रेष्ठले ओकिनावा फेस्टिभलले नेपाली र जापानीबीचको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने कुरामा जोड दिए।
साथै, एनआरएनए जापान क्षेत्रीय समिति ओकिनावाका कोषाध्यक्ष रेमन रिजालले नेपालका विभिन्न जातजातिका संस्कार र संस्कृति झल्काउने कला र संस्कृतिको प्रदर्शनले नेपाल र नेपालीको पहिचान जापानीहरूमाझ उजागर हुने बताए।
कार्यक्रमको अन्त्यमा, संयोजक खड्काले ओकिनावावासी सम्पूर्ण नेपालीहरूलाई आ-आफ्नो क्षेत्रबाट विभिन्न भूमिकामा रहेर कार्यक्रम सफल पार्न सहयोग गर्न अनुरोध गरे।
जापानमा क्रियाशील विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता, व्यवसायी, विद्यार्थी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। फेस्टिभल सम्पन्न गर्न एनआरएन जापानका अध्यक्ष नवीन निउरे ,उपाध्यक्ष देबेन्द्र उप्रेती आज ओकिनावा आइपुगेका छन्।
यो फेस्टिभलले ओकिनावामा रहेका नेपाली समुदायको एकता र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यसले नेपाली कला, संस्कृति र परम्परालाई जापानी समुदायमाझ प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ, जसले दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





