जापानमा लामो समयदेखि सफल व्यवसायी र समाजसेवीको रूपमा स्थापित शिवहरी पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी दिएका छन्।

पौडेल जापानमा होटल, पसल, रियल इस्टेट लगायत दर्जनभन्दा बढी क्षेत्रमा सफल व्यवसाय सञ्चालन गरिरहेका छन्। सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै उनले ‘सफा नियत, स्पष्ट दृष्टिकोण र समावेशी सोच’ का साथ यसपटक आइसीसीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।

२०११ सालदेखि एनआरएन अभियानमा सक्रिय रहेका पौडेलले एनआरएनए जापानमा डेलिगेट र सल्लाहकारजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन्। हाल उनी नेपाली व्यवसायी संघ जापानको उपाध्यक्षको रूपमा समेत क्रियाशील छन्।

उनको उम्मेदवारीले जापानमा रहेका नेपाली समुदायभित्र उत्साह र समर्थन बढाएको छ, जसबाट उनीप्रति सकारात्मक अपेक्षा देखिएको छ।
गैरआवासीय नेपाली संघ, जापानमार्फत आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्य संख्या आठजना तोकिएको छ। यही जुलाई २७ मा हुने निर्वाचनबाट यी प्रतिनिधिहरू चयन गरिनेछन्। यी प्रतिनिधिहरूले आगामी अक्टोबरमा हुने एनआरएनए अन्तर्राष्ट्रिय निर्वाचनमा भाग लिन पाउनेछन्। पौडेलले आफ्नो उम्मेदवारी दर्ता पश्चात “म सम्पूर्ण नेपाली समुदायको साथ, सुझाव र समर्थन लिएर अघि बढ्न चाहन्छु।

एनआरएन अभियानलाई अझ परिणाममुखी र समावेशी बनाउने मेरो लक्ष्य छ,” भनेर बताएका छन्।
पौडेलले आफ्नो चुनावी अभियानमा एकता, सशक्तीकरण र समर्पणलाई मूल मन्त्र बनाएका छन्। उनी विश्वास गर्छन् कि यी तीन आधारस्तम्भहरूबाट मात्र समावेशी, पारदर्शी र प्रभावकारी एनआरएनए निर्माण गर्न सकिन्छ। उनले सम्पूर्ण नेपाली समुदायलाई यस अभियानमा साथ, सुझाव र विश्वासका लागि आह्वान गरेका छन्। उनको अमूल्य मतले आफूलाई यो जिम्मेवारी बहन गर्न थप बल मिल्ने उनको भनाइ छ।

आगामी जुलाई २७ को निर्वाचनमा आइसीसी सदस्य पदका लागि आफूलाई (शिवहरी पौडेललाई) भोट, साथ र समर्थन दिन पौडेलले विनम्र अनुरोध गरेका छन्। उनी सबै मिलेर एनआरएनएलाई अझ मजबुत, न्यायपूर्ण र नेपाली हितमा काम गर्ने संस्थामा रूपान्तरण गर्न सकिनेमा दृढ छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय