चिबा, जापान: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११औँ साधारण सभा सोमबार चिबामा सम्पन्न भएको छ। सभाले एनआरएनए जापानको विधान २०२१ लाई संशोधित गर्दै समयानुकूल बनाउने उद्देश्यले तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको छ।

सभामा प्रमुख अतिथिको रूपमा उपस्थित एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरूको अभिभावकीय संस्थाको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। उनले एनसीसीका विधानहरूले त्यस मुलुकमा बस्ने समग्र प्रवासी नेपालीहरूलाई समेट्न सक्ने गरी बनाइनु पर्ने बताए।

एनआरएनए आइसिसीका युवा उपाध्यक्ष रोशन थापाले एनआरएनएको छवि उच्च राख्न एनसीसीहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूको हित र सुरक्षालाई मध्यनजर गरेर कार्य गरिनुपर्ने बताए।

एनआरएनए आइसिसीका सल्लाहकार तथा एनआरएनए जापानका संरक्षक ओम गुरुङले संस्थाको मर्म र उद्देश्यलाई आत्मसात गर्न सकियो भने मात्र संस्थाले राम्रो गति लिन सक्ने भन्दै एनआरएनए जापानमा आवद्ध हरेक सदस्यले एनआरएनएको मर्म र भावनालाई आत्मसात गर्दै विधानअनुरूप कार्य गर्न आग्रह गरे।

साधारण सभाले एनआरएनए जापानका महासचिव टिकाराम खरेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पनि पारित गरेको थियो।
साधारण सभा एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय