टोकियो, जापान: जापानमा नेपाली समुदायमाझ परिचित तथा सक्रिय व्यक्तित्व नबिन दीप गुरुङले गैर-आवासीय नेपाली संघ (NRNA) जापानको २०२५-२७ कार्यकालका लागि केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जापानमा लामो समयदेखि बसोबास गर्दै आएका र विभिन्न सामाजिक तथा खेलकुद अभियानहरूमा सक्रिय गुरुङले “एउटै लक्ष्य, एउटै टोली – दीर्घकालीन योजना, दिगो नेतृत्व” को मूल नाराका साथ समुदायको हितका लागि आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दृष्टिकोण र लक्ष्यहरू:
गुरुङले NRNA को समग्र विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्:
* “एउटै लक्ष्य, एउटै टोली – दीर्घकालीन योजना, दिगो नेतृत्व”: NRNA का साझा उद्देश्यहरूलाई प्रष्ट परिभाषित गर्दै ४-वर्षे, ६-वर्षे र १०-वर्षे रणनीतिक कार्ययोजना तयार पारिनेछ। हरेक योजना नतिजामुखी, समुदायकेन्द्रित, र व्यावहारिक कार्यान्वयनमा आधारित हुनेछ, जसले संस्थालाई संस्थागत मजबुती दिनुका साथै सम्पूर्ण नेपाली समुदायको दीर्घकालीन हित सुनिश्चित गर्नेछ।

* “संस्थाको सबलीकरण – डिजिटल, पारदर्शी, प्रभावकारी”: जापानस्थित नेपाली समुदायका यथार्थ समस्या र आवश्यकताहरूको वर्गीकरण गरी प्राथमिकताको आधारमा चरणबद्ध समाधान लागू गरिनेछ। प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल ड्यासबोर्ड, डेटा व्यवस्थापन प्रणाली, र सुगम सूचना पहुँचमार्फत संस्था पारदर्शी, जवाफदेही र जनमैत्री बनाइनेछ।

* “समावेशी एकता – सबै नेपालीको आवाज, सबैको पहुँच”: जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई खुला र सहज सदस्यता प्रणाली मार्फत संस्थामा समेटिनेछ। प्रत्येक सदस्यको मताधिकार सुनिश्चित गर्दै सदस्यता र आपत्कालीन सहयोगलाई स्वास्थ्य बीमा योजनासँग समेत समन्वय गरिनेछ, जसले समुदायमा सुरक्षा र विश्वासको अनुभूति दिलाउनेछ।

गुरुङका मुख्य योजनाहरू:
गुरुङले समुदायका विभिन्न पक्षहरूलाई समेट्ने गरी तीन प्रमुख योजनाहरू अघि सारेका छन्:

* “नदीमाथिको पुल” – विद्यार्थीहरूका लागि संरचित सहायता कार्यक्रम: जापानभरिका विद्यालय, कलेज, र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सशक्त बनाउने उद्देश्यले शैक्षिक संस्थाहरूको विस्तृत विवरण संकलन गरी NRNA हेल्पडेस्कसँग समन्वय गर्दै सूचना-पत्र तयार गरिनेछ। यो कार्यक्रम शिक्षा, अभिविन्यास, र अवसरको पुल बन्ने गुरुङको विश्वास छ।

* “खेलकुदद्वारा एकता र मानसिक स्वास्थ्य प्रवर्द्धन” – सक्रिय जीवनशैलीको अभियान: जापानमा रहेका क्रियाशील नेपाली खेलकुद संस्थाहरूलाई वार्षिक सहायता कोष प्रदान गरिनेछ। यस सहयोगले खेलकुद कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै समुदायमा एकता, शारीरिक स्वास्थ्य, र मानसिक सन्तुलन प्रवर्द्धन गर्नेछ।

* “समयमै शिक्षा” – सचेत नेपाली, सुरक्षित भविष्य: NRNA प्रति नेपालभित्र सकारात्मक जनचेतना फैलाउन ‘समयमै शिक्षा’ अभियान सञ्चालन गरिनेछ। जापान आउन चाहने विद्यार्थी र अभिभावकहरूलाई लक्षित गर्दै सेमिनार, सूचनामूलक सामग्री, र अनलाइन भिडियोहरू मार्फत जापान आउने प्रक्रियामा देखिन सक्ने चुनौती र समाधानहरूको स्पष्ट जानकारी प्रदान गरिनेछ।

दृढ संकल्प:
नबिन दीप गुरुङले आफ्नो कार्यकालमा निम्न तीन प्रतिबद्धताहरूमा अडिग रहने संकल्प गरेका छन्:
* “निजस्वार्थभन्दा माथि उठ्ने अटुट प्रतिबद्धता”: गुरुङले आफ्नो मूल लक्ष्य व्यक्तिगत फाइदा नभई समाजको समृद्धि र सेवा रहेको र हरेक निर्णयमा समुदायको हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता जनाएका छन्।
* “जनताको आवाज, मेरो कार्यदिशा”: प्रत्येक नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने र अन्याय, अनियमितता र अपारदर्शिताप्रति सधैं निर्भीक र निष्पक्ष रहने गुरुङले बताएका छन्।
* “राजनीतिक हस्तक्षेपबाट पूर्ण स्वतन्त्रता”: NRNA लाई समर्पण र सेवाको मञ्चका रूपमा हेर्दै कुनै पनि राजनीतिक दल, गुट वा स्वार्थप्रेरित एजेन्डाबाट पूर्णतः स्वतन्त्र, निष्पक्ष र तटस्थ रहने गुरुङको अठोट छ।
परिचय:
सन् २०१३ मा विद्यार्थीको रूपमा जापान प्रवेश गरेका नबिन दीप गुरुङ हाल एक जिम्मेवार र अनुभवी कर्मचारीका रूपमा कार्यरत छन्।

जापानमा रहँदा उनले नेपाली समुदायसँग मात्र नभई जापानी समुदायसँग पनि गहिरो सम्बन्ध बनाएका छन् र विविध सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। डायमण्ड नारिता संस्थाका संस्थापक अध्यक्ष र एनजेएफए (NJFA) कार्यसमिति सदस्यका रूपमा, उनी जापानभर नेपाली युवालाई फुटबल, संगीत र समाजसेवामार्फत एकतामा बाँध्ने र सकारात्मक मार्गदर्शन दिने कार्यमा निरन्तर सक्रिय छन्।

गुरुङले अनुभव, समर्पण र सहकार्यको भावना लिएर अघि बढ्न चाहेको र जापानमा रहेका नेपालीहरूबीच एकता, अवसर र समृद्धिको पुल बन्ने आफ्नो दृढ इच्छाशक्ति रहेको बताएका छन्।

उनको लक्ष्य केवल प्रतिनिधित्व गर्नु नभई नेतृत्वदायी योगदान मार्फत समग्र नेपाली समुदायको हितमा दीर्घकालीन योजना निर्माण र कार्यान्वयन गर्नु रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय