
टोकियो, जापान: जापानको व्यस्त सहर टोकियोको मुटुमा, शिनओकुबो र ओकुबो रेल स्टेशनको बीच भागमा एउटा यस्तो रेस्टुरेन्ट छ, जसले नेपाली मात्रै होइन, जापानीहरूको मन पनि जितिरहेको छ— त्यो हो ‘रातो माटो’ टिपिकल नेपाली रेस्टुरेन्ट। माटोबाट बनेका कलात्मक सजावट, मनमोहक दृश्य र शान्त वातावरणले ग्राहकहरूलाई एकपटक प्रवेश गर्ने बित्तिकै लोभ्याउँछ। यस रेस्टुरेन्टले परम्परागत नेपाली स्वादलाई मौलिक शैलीमा पस्कने नौलो अवधारणा अंगालेको छ।
रेस्टुरेन्ट सञ्चालक शिवहरि पौडेलका अनुसार, जापानिजहरूमाझ इन्डियन खाना लोकप्रिय भए पनि, रातो माटोमा नेपालीहरूका साथै जापानी ग्राहकहरूको पनि उत्तिकै भीड लाग्ने गर्छ। उनको भनाइ छ, “हामीले संख्यात्मकलाई भन्दा पनि गुणस्तरलाई ध्यान दिएका छौँ। त्यसैले, जोसुकै घुम्न जाने नेपाली पनि एक पटक रातो माटोमा जाऊँ भनेर आउँदा निकै खुसी लाग्छ।” यहाँ विशेषगरी नेपाली खाना सेट, बिर्यानी, र नेवारी सेट खाजा निकै लोकप्रिय छन्।
‘रातो माटो’ को सबैभन्दा आकर्षक विशेषता भनेको माटोका भाँडामा परिकार तयार पारी माटोकै भाँडामा पस्कनु हो। मट्का चिया, मट्का बिर्यानी, र मट्का करी जस्ता मौलिक परिकारहरूले ग्राहकहरूलाई लोभ्याउँछन्। पौडेलले सुनाए अनुसार, मट्का चियाको स्वाद लिन घण्टौँ ट्रेन चढेर आउने नेपालीहरूको संख्या पनि ठूलै छ। यसले नेपाली परम्परागत स्वादप्रतिको आकर्षण जापानमा पनि उत्तिकै रहेको देखाउँछ।
सातौँ तल्लामा रहेको यो रेस्टुरेन्टबाट टोकियो सिन्जुकु सहरको आकर्षक दृश्यहरू हेर्दै फरक, स्वादिष्ट र स्वास्थ्यवर्द्धक खानाका परिकारहरूको आनन्द लिन सकिन्छ। शिनओकुबोको सजिलो स्थानमा अवस्थित यो रेस्टुरेन्ट नेपाली समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा पर्दछ।
‘रातो माटो’ ले नेपालीको मनमा जन्मभूमिको न्यानोपन जगाउनुका साथै जापानमा रहेका सबैलाई नेपालको मौलिक संस्कृति र खानाको स्वाद चिनाउन गर्व गर्छ। जापानको परम्परागत माटोका भाँडाको इतिहासलाई पनि सम्मान गर्दै, दुई देशको संस्कृतिलाई जोड्नु यस रेस्टुरेन्टको मूल उद्देश्य हो। विशिष्ट नेपाली परिकारहरूका साथै पार्टी तथा जमघटका लागि उत्कृष्ट वातावरण, सजिलो बुकिङको सुविधा, टेकआउट र ‘ड्रिंक्स एज यु क्यान’ को व्यवस्थाले ‘रातो माटो’ लाई थप आकर्षक बनाएको छ।