राष्ट्रिय संक्रामक रोग संस्थानको पछिल्लो तथ्याङ्कअनुसार, जापानमा सन् २०२४ मा १४,६६३ जनामा सिफिलिस सङ्क्रमण भएको पाइएको छ। यद्यपि यो सङ्ख्या सन् २०२३ को रेकर्ड १४,९०६ भन्दा केही कम छ, तर सिफिलिसको सङ्क्रमण दर अझै उच्च रहेको संकेत गर्दछ।

टोकियोमा सबैभन्दा धेरै ३,७०३ जनामा सङ्क्रमण देखिएको छ। ओसाका, फुकुओका, ऐची र कनागावा जस्ता अन्य प्रमुख शहरहरूमा पनि सङ्क्रमणको दर उच्च छ। स्वास्थ्य मन्त्रालयका अनुसार, जापानमा सन् २०११ देखि नै सिफिलिसको सङ्क्रमण दर निरन्तर बढ्दै गएको छ।

सिफिलिस एक यौनरोग हो जसको उपचार समयमै नगरिएमा मुटु, रक्तनली र स्नायु प्रणालीमा गम्भीर क्षति पुर्‍याउन सक्छ। यस रोगका लक्षणहरू व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् वा कुनै लक्षण नदेखिन पनि सक्छन्। यद्यपि, लक्षणहरू हराए पनि रोग निको भएको हुँदैन र अझै पनि अरूलाई सर्न सक्छ।

ओसाका शहरको तानियोन स्टार क्लिनिकका यौन रोग विशेषज्ञ डा. केइची फुरुबायाशीका अनुसार, सिफिलिसको निदान गाह्रो हुन्छ। उहाँको सुझाव छ, “यदि तपाईंलाई सिफिलिस लाग्ने सम्भावना छ भने सार्वजनिक स्वास्थ्य केन्द्रमा गएर निःशुल्क परीक्षण गराउनुहोस्। साथै, असुरक्षित यौन सम्बन्धबाट बच्न कन्डमको प्रयोग गर्नुपर्छ।”

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय