जापान, ओसाका:
ओसाकाको चुरुमी रेउकुची पार्कमा अवस्थित पशुपतिनाथ मन्दिरको दोस्रो पटक सरसफाई अभियान सम्पन्न भएको छ। ओसाकामा सक्रिय ब्लु ब्वाईज युनियनका सदस्यहरूले गत सोमबार मन्दिर परिसरको सरसफाई गरेका हुन्।

ब्लु ब्वाईज युनियनका रामकृष्ण केसीको नेतृत्वमा भएको यस अभियानका लागि वडा कार्यालयबाट अनुमति लिएको थियो। पहिलो पटक एक महिनाअघि मन्दिर परिसरको अगाडिको भागको सरसफाई गरिएको थियो। यस पटक मन्दिर वरिपरि झाडी र पातपतिङ्गर फालेर सफा गरिएको छ। आउँदो विजया दशमीलाई लक्षित गर्दै यो सरसफाई अभियान सञ्चालन गरिएको संयोजक केसीले जानकारी दिए।

मन्दिर प्रवेशद्वारमा चाबी लगाइएको र दशैँको दिन केही समयका लागि ढोका खोल्ने बारेमा छलफल भइरहेको छ। सरसफाईका क्रममा मन्दिरमा घुम्न आएका अन्य नेपालीहरूले पनि सहयोग गरेका छन्। १२ जना युवाहरूको सहभागितामा २ गाडी फोहोर संकलन गरिएको छ र वडा कार्यालयले आवश्यक सामाग्री उपलब्ध गराएको छ।
ब्लु ब्वाईज युनियनले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ। जापानको चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको शैलीमा बनेको छ। यहाँ विदाको दिनमा धेरै नेपालीहरू घुम्न आउने गर्छन्। यस क्षेत्रमा अन्य २० भन्दा बढी देशका मन्दिरहरू पनि छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय