टोकियो र यसका आसपासका तीनवटा प्रिफेक्चरहरूमा भएका डकैतीलगायतका विभिन्न अपराधका घटनाहरूमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न संयुक्त अनुसन्धान टोली गठन गरिएको छ। प्रहरीका अनुसार यी घटनाहरूमा सामाजिक सञ्जालमार्फत भर्ती गरिएका व्यक्तिहरूको संलग्नता रहेको हुन सक्ने अनुमान गरिएको छ।

शुक्रबार भएको बैठकमा टोकियो, साइतामा, चिबा र कानागावाका वरिष्ठ अनुसन्धानकर्ताहरू सहभागी भएका थिए। उनीहरूले अगस्तदेखि भएका नौवटा घटनाको अनुसन्धान गरिरहेका छन् र हालसम्म २९ जनालाई पक्राउ गरिसकेका छन्। तर, पक्राउ परेका अधिकांश व्यक्तिहरूलाई अपराध गर्न लगाउने मुख्य योजनाकार अझै पक्राउ पर्न सकेको छैन।

प्रहरीको अनुसधानबाट केही घटनाहरूमा मुख्य योजनाकारले उच्च सुरक्षा भएको सन्देश एपको एउटै खाता प्रयोग गरेको खुलेको छ। यसबाट अपराधीहरूले योजनाबद्ध तरिकाले अपराध गरिरहेको देखिन्छ।

महानगरीय प्रहरी महाशाखाका संयुक्त टोली प्रमुख शिन्का काजुहितोले पछिल्ला घटनाहरूमा अपराधीहरू हिंसात्मक बन्दै गएकोले स्थानीय बासिन्दा निकै त्रसित भएको बताएका छन्। उनले जापानी प्रहरीले यस्ता खालका अपराधमा संलग्न व्यक्तिहरूलाई चाँडै पक्राउ गर्न र संगठित अपराधको जालो तोड्नका लागि सक्दो प्रयास गरिरहेको बताए।

प्रहरीले यस अनुसन्धानका लागि करिब तीन सय जना अधिकारी परिचालन गरेको छ। यी अधिकारीहरू लुटपाट मात्र नभई ठगी, साइबर अपराध र संगठित अपराधका विज्ञ हुन्।

@NHK

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय