तोया अधिकारी/ गोरखा

गाउँमा गाउँ छैन
समयले नै निकालेकाे मलाई
समयले नै पुर्याउँछ त्यहाँ
पाेखिन्छन् मेरा तृषित दृष्टिहरू
खाेज्छन् –
परिचित बाेटविरुवाहरू
परिचित संरचनाहरू
परिचित वन्धूवान्धवहरू ।
भूसंरचना उस्तै भए पनि
थातथलाे नै हाेइन हाेइनजस्ताे ,
थिएन पुर्ख्याैली घडेरीका निशानीहरू
थिएनन् चिटिक्क परेका ढुङ्गे माैलिक घरहरू
थिएनन् पुराना गाेरेटाहरू
थिएनन् बाल दाैंतरीहरू
थिएनन् परिचित वस्तुहरू ,
थिए त केबल –
डाेजरे विकासका डाेबहरु
राहतमा बनाइएका
उस्तै उत्रै फुच्चे घरहरू
गाउँमा बालकहरू थिए –
म चिन्दैनथें, मलाई चिन्दैनथे
वृद्धहरू थिए – देख्दैनथे , सुन्दैनथे
हरियाली त थियाे
तर निर्जनताले किल्ला जमाएकाे थियाे ।
नजिकैको चाैताराेे
शमीकाे अस्थिपन्जर बाेकेर
रुन्चे अनुहारमा टाेलाएकाे थियाे
नजिकैको स्कुल
विद्यार्थीकाे खडेरीमा पनि
माैलिक स्वरुप बदलेर
नयाँ बान्कीमा
शानले ठाँटसँग उभिएको थियाे ।
वरिपरिका फाँटहरू उस्तै थिए
खेतबारीका गराहरू उस्तै थिए
खाेलाखाेल्सीहरू उस्तै थिए
गाउँ बस्ती चियाउने हिमश्रृखला उस्तै थिए
वनपाखामा चराको चिरबिर उस्तै थियाे
तर खेतबारीमा
लहलहाउँदाे बाली थिएन
खाेलाखाेल्सीका कुलाेकुलेसाहरुमा
कलकल बग्ने पानी थिएन
हिमशृङ्खलाकाे साैंदर्यमा लठ्ठिने
पारखी व्यक्ति थिएनन्
चराकाे सङ्गीत सुन्ने
सङ्गीतप्रेमी थिएनन्
मे गाउँ त गाउँमा नै थियाे
तर त्यहाँ गाउँले थिएनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय