काठमाडौं, असोज १६ । स्थापनाको दुई दशकपछि नेपाल शेर्पा संघ राजधानीको नारायणटार स्थित आफ्नै भवनमा सरेको छ ।
राजधानीको नारायणटारमा करीब पाँच करोडको लागातमा भवन खरिद गरी कार्यालय सरेको सचिव किशोर शेर्पाले जानकारी दिनु भएको छ । शेर्पाको अनुसार ‘यसअघि कुमारीगालमा रहेको कार्यालय सोमबार आफ्नै भवनमा सारेको हो ।’ संघले कार्यालय प्रयोजन र सिंगो शेर्पाहरुको प्रशासनिक इकाईको रुपमा भवन खरिद गरी सञ्चालन गर्ने लागेको जानकारी दिएको छ ।
आफ्नै भवनमा कार्यालय सरेसँगै संघको भवनमा शेर्पाहरुको सम्पूर्ण संस्थाहरुलाई कार्यालय व्यवस्थापन गर्न सहज हुने अध्यक्ष आङ दोर्जी लामा शेर्पाले बताउनु भएको छ । शेर्पा समुदायमा दर्जनौं संघसंस्थाहरु क्रियाशिल भएमध्ये शेर्पा सेवा केन्द्रको मात्रै आफ्नो भवन थियो । संघले भवन खरिदपछि धार्मिक वाहेक अन्य क्रियाकलाप सञ्चालनका लागि सहज हुने समुदायले अपेक्षा गरेका छन् । भवन खरिदका लागि संघले यसअघि नै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । भवन खरिद ऋण चुक्ता गर्न अझै बजेट अपुग भएकाले सबैलाई सहयोग गर्न समेत संघले आह्वान गरेका छन । शेर्पा समुदायबाट व्यक्तिगत र संस्थागत सहयोग संकलन गरेर भवन खरिद गरेको हो ।
संघको पाँचौ महाधिवेशनमा नयाँ कार्य समितिले भवन जोड्ने घोषणा गरे अनुरुप भवन खरिद गरी कार्यालय सार्न सफल भएको संघका पदाधिकारीहरु बताउँछन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय