
सहमतीय नेतृत्वका लागि सवैको जोड
काठमाडौं, ८ साउन । नेकपा माओवादी निकट नेपाल पर्यटन व्यवसायी संगठनले नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनका लागि आफ्नो छुट्टै प्यानल घोषणा गरेको छ । यही साउन २१ गते हुन गईरहेको एनएमए निर्वाचनको लागि माओबादी निकट ब्यबासायीहरु प्यानल घोषणा गर्ने पहिलो समुह बनेका छन् ।
आइतबार बसेको संगठनअन्तर्गत एनएमए निर्वाचन कार्यदलको बैठकले निमी शेर्पा अध्यक्षतामा प्यानल घोषणा गरेको हो । उक्त प्यानलबाट एनएमए नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष पदमा ठाकुरराज पाण्डे, द्धितीय उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिवमा बोधराज भण्डारी, सचिवमा ऋषि नेपाल र कोषाध्यक्षमा सुदर्शन न्यौपाने रहेको कार्यदल संयोजक नवराज दाहालले शिखरपोष्टलाई जानकारी दिए ।
यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रसाद सापकोटा, निर बहादुर लामा, ऋषि पनेरु र लाक्पा नुरु शेर्पालगायत रहेको छन् ।
दाहालले एनएमएको नयाँ नेतृत्व सर्वसम्मत रुपमा ल्याउनुपर्नेमा जोड दिदै संगठनले अघि सारेको यो प्यानल पनि सहमतीय नेतृत्वकै लागि भएको दाबी गरे । ‘हामीले कांगे्रस, एमाले र नयाँ शक्ति निकट पर्यटन संगठनहरुसँग औपचारिक र अनौपचारिक सम्वाद गरिसकेका छौं’ उनले भने ‘हामीले सुरु देखिनै आगामी एनएमए नेतृत्व सहमतीय आधारमा हुनुपर्छ भन्दै आएका छौं । फेरी पनि सहमतीय नेतृत्वका लागि सबैलाई आह्वान गर्छौं ।’
सहमतीय नेतृत्वका लागि हाम्रो संगठनले सम्मानजनक लचकता अपनाउने उनको भनाइ छ ।
एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनले पनि सन्तबीर लामाको नेतृत्वमा एनएमएको निर्वाचनमा जाने औपचारिक निर्णय नै गरिसकेको छ । उसले पनि सहमतिको लागि भन्दै छुट्टै कार्यदल गठन गरेको छ । यता कांगे्रस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) भने अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन ।