
शेरसाङ्गे शेर्पा खिजिदेम्बा,ओखलढुंगा खिजिदेम्बमा -३ दिने लोसर कार्यक्रम सम्पन्न भएको छ।खिजिदेम्बा गाउँपालिका ओभर्सिज ह्याल्पिङ ह्यान्डस र नेपाल शेर्पा युवा संघ ओखलढुंगाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालका महान बौद्ध गुरु ५ औं औंतरी तोलाका टुल्कु श्री ङवाङ लोप्साङ रिन्पोछेको बाहुलीबाट आयुको अभिषेक छेवाङ साथै धार्मिक प्रवचन समेत भव्य रूपमा सम्पन्न भएको जनाइएको छ।
शेर्पा समुदायको राष्ट्रिय महान चाड अर्थात नयाँ वर्ष २१४५ सा फो खि ल्हो ग्याल्पो लोसरको पवन अवसरमा ओखलढुंगा खिजिदेम्बामा भएको बृहत लोसर कार्यक्रममामा १४ वर्षदेखि ३० वर्ष उमेर अबधिका शेर्पा युवाहरुको लागि श्याब्रु नृत्य प्रतियोगिता समेत सम्पन भएको छ।सम्पन्न श्याब्रु नृत्य प्रतियोगितामा नगद रु- २५ हजारका साथमा प्रमाणपत्र हात पार्दै शेर्पा रीतिरिवाज उत्थान समिती खिजिदेम्बा-९ प्रथम, नगद रु १५ हजारका साथमा प्रमाणपत्र हात पार्दै उन्जेलामा स्मृति प्रतिष्ठान खिजिदेम्बा -९ दित्तीय र नगद रु १० हजारका साथमा प्रमाणपत्र हात पार्दै बौद्ध साँस्कृतिक मञ्च खिजिदेम्बा -२ तृतीय भएको आयोजकले बताइएको छ। श्याब्रु नृत्य प्रतियोगितामा -७ टिमको सहभागिता रहेको थियो।सहभागी सबै टिमलाई हौसला प्रदान गर्नका लागि नगद रु-४ हजारको साथमा प्रमाणपत्रको व्यवस्था गरिएको जनाइएको छ।लोसर कार्यक्रम सम्पन्न गराउनका लागि ज्यान परदेशमा मन घरदेशमा भएको सहयोगी मनहरुको ठुलो भुमिका रहेको भन्दै सबैलाई धन्यवादका लागि धन्यवादपत्र समेत प्रदान गरिएको आयोजकले बताइएको छ।
कार्यक्रममा विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधि सभा ओखलढुंगाका माननीय संसद यज्ञराज सुनुवारले ओखलढुंगा खिजिदेम्बाका शेर्पा दाजुभाइहरुले शेर्पा जातिहरुको जातीय पहिचान र मौलिक परम्परालाई जोगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा बधाई तथा धन्यवाद ज्ञापन गर्दै सबै जातिहरुले आफ्नो मौलिक पहिचान र जातीय अस्तित्वका चिनारीहरुको संरक्षण गर्दै निकट भविष्यमा पनि यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्दै त्यसका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै अब छिट्टै ओखलढुंगाको मुहार परिवर्तन हुने दावी गर्नुभएको थियो। ओखलढुंगा क्षेत्र नं-१ का माननीय संसद अम्बिरबाबु गुरुङले शेर्पा जाति नेपालको एक साहसी र इमानदारी जाति भएको ठहर गर्दै ओखलढुंगा खिजिदेम्बाको बिकास गर्ने जिम्मेवारी मेरो भएको दावी गर्दै यसका लागि ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो।
बृहत लोसर कार्यक्रममा नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले डिजे ब्याटल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त गायक,गायिकाहरुको विशेष सांगीतिक प्रस्तुति रहेको जनाएको छ।लोसरकै अवसरमा शेर्पाले नै लेखक,निर्देशक,डाइरेक्टरको भुमिका निर्वाह गरि बनाइएको फिल्म “टिन्छेन फमा” समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमको समीक्षा गर्दै नेपाल शेर्पा युवा संघका अध्यक्ष पासाङ ङिमा शेर्पा र खिजिदेम्बा ओभर्सिज ह्याल्पिङ ह्यान्डस का संयोजक तथा गायक गम्बु शेर्पाले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र आगामी दिनहरुमा पनि निरन्तर रूपमा लोसर मनाउनुपर्ने कुरामा जोड दिइएको बताइएको छ।३ दिनसम्म निरन्तर संचालन भएको लोसर कार्यक्रममा हजारौंको सहभागिता रहेको थियो।