तीन दिनदेखि लुक्लामा पर्यटक कुरेर बसिरहेका थिए, आङकामी शेर्पा । पर्यटक भेटिएपछि करिब ४० किलोको भारी बोकेर उनी फाप्दिङतिर लागे, जहाँ पुग्न उनलाई करिब पाँच घन्टा लाग्छ । होटलमा पुगेर उनले भारी बिसाए, नाम्लो फुकाए । अनि, हिँडे बस्ने बास खोज्न ।
पर्यटक बस्ने होटलमा बस्नखान उनलाई पुग्दैन । पुगे पनि पर्यटक होटलमा बस्न उनले पाउँदैनन् । खुम्बु क्षेत्रका भरियालाई पर्यटक बस्ने होटलमा बस्न दिइँदैन । केही होटलमा प्रवेश नै दिँदैनन् । अनि, भरियाहरू भट्टी पसलमा गएर रात कटाउँछन्, त्यसै गरे आङकामीले पनि । भोलिपल्ट बिहान ७ बजे उनी आफूले भारी बोक्ने पर्यटक बसेको होटल पुगे । उसैगरी भारी कसे अनि पसिना चुहाउँदै लागे उकालो ।
‘सिजनका बेला पर्यटकलाई नै व्यवस्था गर्न पाएका हुँदैनौँ,’ नाम्चेका एक व्यवसायी भन्छन्, ‘पोर्टरलाई किन व्यवस्था गर्नुपर्याे, आफै गरिहाल्छ नि ।’
‘खलखल पसिना बगाएर भारी बोकी पर्यटक होटलमा पुर्याइदिन्छौँ,’ आङकामी गुनासो गर्छन्, ‘तर, त्यही होटलमा हामीलाई बस्ने सुविधा दिइँदैन । कतिपय होटलमा त भित्र पस्नै पो दिँदैनन् ।’
आङकामी एकजनाको मात्रै गुनासो होइन यो, खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्ने सबै भरियाको साझा गुनासो हो । आङकामी प्रतिनिधि पात्र हुन् ।
गुनासो पनि किन नगरुन् ? पसिना बगाउँदै भारी बोकेर विदेशीलाई होटलमा पुर्याइदिन्छन् । होटलवालाले डलरमा व्यापार गर्छ पर्यटकसँग । तर, भरियाले होटलमा प्रवेश पाउँदैनन् ।
पर्यटकलाई होटलमा राखेर भट्टी खोज्दै बास बस्नुपर्ने बाध्यता छ उनीहरुको । भट्टीमा एक छाक सादा भातको दुई सय ५० पर्छ, दुई छाकको पाँच सय । खाजामा एउटा चाउचाउको मात्रै एक सय ५० रुपैयाँ लाग्छ भने एक कप चियाको ५० रुपैयाँ । कन्जुस्याइँ गरेर खाँदा पनि दैनिक सात सय रुपैयाँ त खानैमा खर्च हुन्छ । भट्टीमा त्यति राम्रो सुत्ने व्यवस्था हुँदैन । ‘विकल्प केही नभएपछि त भट्टीमै भए पनि रात कटाउनैप¥यो नि,’ आङकामीसँगै भेटिएका लाक्पादोर्जी शेर्पाले दुखेसो पोखे ।
खुम्बुमा पर्यटकको झोला बोक्ने भरियाले एकपटकको ज्याला आठ सयदेखि १२ सय रुपैयाँसम्म पाउँछन् । ट्रेकिङ कम्पनीअनुसार दैनिक ज्याला फरक हुन्छ । राम्रो कम्पनीले १२ सय रुपैयाँसम्म दिन्छ । उस्तै कम्पनीले आठ सय रुपैयाँभन्दा बढी दिँदैनन् । आठ सय ज्याला पाउनेले खानैमा सकिन्छ । १२ सय पाउनेले खर्च घटाएर दैनिक चार–पाँच सय रुपैयाँ बचाउन सक्ने उनीहरूले बताए ।
‘दैनिक आउने तलब त खाँदैमा ठिक्क हुन्छ,’ सात वर्षदेखि खुम्बुमा भारी बोक्दै आएका जांबु शेर्पा भन्छन्, ‘बच्ने भनेको कुइरे (गोरा)ले दिने टिप्स नै हो ।’
खुम्बुमा तीन–तीन महिना दुईपटक पर्यटन सिजन लाग्छ– चैत, वैशाख, जेठ र भदौ, असोज कात्तिक । यो बेला सोलुको तल्लो भेग, खोटाङ, ओखलढुंगा लगायत ठाउँबाट भरिया खुम्बु क्षेत्रमा पुग्छन् ।
पर्यटक पाए र टिप्स पाए भने दुई सिजनमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म कमाउँछन् । कुनै पर्यटकले राम्रै टिप्स दिन्छन् । यही टिप्सको लोभ लाग्छ उनीहरूलाई ।
भारी जति नै गह्रौँ भए पनि उनीहरू मुसुक्क हाँसेर भनिरहेका हुन्छन्, ‘एस, आई एम फाइन ।’
उनीहरूको सपना गाइड बन्ने हुन्छ । गाइड बनेपछि सुविधा बढ्छ । पर्यटकसँग हिँड्न, कुरा गर्न पाउँछन् र पर्यटक बस्ने होटलमै बस्न पाउँछन् । बसेको, खाएको पैसा लाग्दैन । पर्यटक लिएर गएपछि सबै कुरामा छुट हुन्छ गाइडलाई । तर, गाइडसँगै जाने भरियालाई बस्नै दिँदैनन्, यहाँका होटलवाला । पहिले त गेटबाटै प्रवेशमा रोक लगाएका थिए । सशस्त्र द्वन्द्वका बेला भने केही खुकुलो भयो, पूर्णरूपमा भने खुकुलो हुन सकेको छैन । भरियालाई पनि होटलमा राख्नुपर्छ भन्ने गाइड र पर्यटकले पनि यहाँ रुम नपाउन सक्छन् । ‘सिजनका बेला पर्यटक धेरै, होटल कम हुन्छन् खुम्बुमा,’ लामो सयमदेखि गाइड गर्दै आएका आङकामी शेर्पा भन्छन्, ‘मेरो भरियालाई पनि होटलमै राखिदिनु भन्यो भने होटल बुकिङ गर्नै मान्दैनन् ।’ यही समस्याले बुबा गाइड अनि छोरो भरिया भएर खुम्बुमा सँगै गए पनि छुट्टै बस्नुपर्ने बाध्यता छ ।
अन्नपूर्ण क्षेत्रलगायत क्षेत्रका होटलमा पर्यटक लिएर जाने गाइड र भरिया दुवैलाई खानेबस्ने व्यवस्था गरिएको हुन्छ । खुम्बु क्षेत्रका होटलमा भने जाडोले काम्दै पुगेका भरियालाई चियाको समेत व्यवस्था गरिँदैन । ‘सिजनका बेला पर्यटकलाई नै व्यवस्था गर्न पाएका हुँदैनौँ,’ नाम्चेका एक व्यवसायी भन्छन्, ‘पोर्टरलाई किन व्यवस्था गर्नुप¥यो, आफैं गरिहाल्छ नि ।’
गाइड आङकामी टानले केही नयाँ व्यवस्था गर्न सके मात्रै केही परिवर्तन आउन सक्ने बताउँछन् । ‘टान टिम्स कार्ड वितरण गर्दा नै पर्यटकसँग जाने गाइड र भरिया दुवैलाई होटल बस्ने व्यवस्था अनिवार्य गरिनुपर्छ,’ उनले भने, ‘यसो गरिदिने हो भने खुम्बुका भरियाले न्याय पाउने थिए । अहिले खुम्बुका भरियामाथि ठूलो अन्याय भएको छ ।’