काठमाडौँ : लाङटाङ क्षेत्रको गान्जा ला चुली (५८४४ मी) हिमाल नजिक ११ दिनदेखि फसेको एक नेपालीको मृत्यु भएको छ।
मृतक सँगै हिडेका एक युवालाई शुक्रबार बिहान सकुसल उद्धार गरिएको छ। हिमाल क्षेत्रको अवलोकनका लागि ट्रेकिङ हिँडेका भक्तपुरका योगेश महर्जनको बुधबारनै मृत्यु भएको थियो भने उनका साथी विवेक बस्नेतलाई शुक्रबार सिम्रीम हेलिकप्टरले लङलाइन रेस्क्यू गरी उद्धार गरेको क्याप्टेन आनन्द थापाले बताए।
घर नआए पछि परिवारले त्यस क्षेत्रमा खोजतलास गर्न बुधबारदेखि हेलिकप्टर प्रयोग गरेका थिए। विरामी बस्नेतलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ। मृतक महर्जनको शव मौसम खराबीले हिमालमा छाडिएको क्याप्टेन थापाले जानकारी दिए।
यी दुई युवा अनुमती बिनानै आफूखुसी हिमाल तर्फ ट्रेकिङमा गएको नेपाल पर्वातारोहण संघका प्रशासकीय अधिकृत जिनेश सिन्दुलाकारले बताए। स्थानीय गाइडको सहयोगमा फागुन २४ गते गान्जा ला चुली हिमाल पास गरेका थिए। गाइड फर्किएपछि सो क्षेत्रमा भारी हिमपात हुँदा दुई युवा फर्कन नसकेको उद्धारमा सम्लग्न रेस्क्यू गाइड छिरिङ डेन्डुक भोटेले बताए।
हिमाल सम्बन्धी ज्ञान नहुनु र गाइड बिनानै हिमाल जाँदा चिसो र हाइ लागेर महर्जनको मृत्यु भएको बुझिएको भोटेले बताए।
Source:annapurna.com