काठमाडौं । ताम्सालिङ आन्दोलनको स्वरूप तथा रणनीति निर्माणका लागि राजनैतिक भेला आयोजना भएको छ ।
मंगलबार काठमाडौंमा ताम्सालिङ संघर्ष समितिद्वारा आयोजित भेलामा डा. मुक्तसिंह लामाले वर्तमान तामाङ आन्दोलनको साझा लक्ष्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लामाले १० बुँदे कार्यपत्र प्रस्तुत गरेको हो । कार्यपत्रको बुँदा नं. ३ मा “ताम्सालिङ प्रदेशमा तामाङलगायतले बोल्ने मातृभाषा तामाङ हो । भाषिक समानता सुनिश्चित गर्नꓹ राज्यको संचारलाई प्रभावकारी बनाउन र जनतालाई न्यायमा पहुँच बनाउन खस नेपाली भाषाको साथमा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनु नितान्त जरुरी छ । तामाङ भाषा लगायत सबै मातृभाषाहरुमा शिक्षाको व्यबस्थाले मात्र सबै बालबालिकाहरुले शिक्षाको उज्यालोबाट बञ्चित रहनु पर्दैन । तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउ । भाषिक समानता–कायम गर ।” लेखिएको छ ।
त्यसैगरी नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले संघको निर्वाचन तथा ताम्सालिङ प्राप्तीको रणनीति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि अधिवक्ता कुन्साङ योञ्जन र भाषाविद् अमृत योञ्जन तामाङले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुहुदै कानुन न्याय तथा संसदीय व्यवस्था मामिला राज्यमन्त्री दिलमान पाख्रिनले सबै एकजुट भएर लागेमा यो संघर्ष सम्भव हुन्छ । तर काम एकातिर कुरा अर्कातिर भएमा असम्भव हुने बताउनु भयो ।
ताम्सालिङ संघर्ष समितिको संयोजक जय गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यवस्थापन भने तामाङ डाटाबेसले गरेको थियो ।
Source:sailung online