काठमाडौं, कार्तिक ४ । तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’
भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने गौतमले बताए । उनका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन ।
टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ ।