२९ असार, सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी खोरिया सडक खण्ड अन्तरगतमा सोलु खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । बिहिबार जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका र अपर सोलु हाईड्रो पावर विच पुल निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता सम्पन्न भए पछि पुल बन्ने भएको हो ।

सम्झौतामा जिल्ला समन्वय समितिको तर्फवाट स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा, सोलुदुधकुण्ड नगरपालिकाको तर्फवाट प्रमुख नाम्गेल जाङबु शेर्पा र अपर सोलु हाइड्रोका तर्फवाट मारकण्डेय न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।

कुल ५ करोड १ लाख ६३ हजार ८ सय २८ रुपैया २५ पैसाको लागतमा बन्न लागेको उक्त स्टिल पुलको अपर सोलु हाईड्रो पावरले २ करोड ५२ लाख ३८ हजार ३ सय ८६ रुपैयाँ ५५ पैसा, जिल्ला समन्वय समिति सोलुखुम्बुबाट १ करोड ६९ लाख ५० हजार र सोलुदुधकुण्ड नगरपालिकाबाट ७६ हजार ७५ लाख ४ सय ११ रुपैया ७५ पैसा बेहोर्ने सहमती गरी सम्झैता भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

३१.२ मिटर लम्बाई र ५ मिटर चौडाई रहने उक्त पुलको क्षमता ५० टन अर्थात् ५० हजार किलो रहने नगरपालिकाले जनाएको छ । २०७५ साल मंसिर महिना भित्र निर्माण सक्नुपर्ने गरी सम्झौता भएको उक्त पुलको टेन्डर आह्वान तत्काल नगरपालिकाले गर्नेछ । खोरिया र सल्लेरीको सिमनामा बन्न लागेको उक्त पुलको निमार्ण पश्चात् जिल्ला सदरमुकामलाई राजधानीसँग सिधा सडक सञ्जालले जोडिएको सडक अन्र्तगत जिल्लाले पटक पटक सास्ती खेप्दै आएको सिस्नेरी पहिरो रहेको सडक खण्डको विकल्प समेत तयार हुनेछ ।

जिल्लाको जोरबौद्धबाट खोरिया, टाप्टीङ हुदै जन्तरधाप जोडिने उक्त सडकमा बन्न लागेको पुल निर्माण पश्चात् सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ केरुङ, वडा नम्बर ९ गोराखानी र वडा नम्ब्र १० टाप्टिङका नागरिकहरु सदरमुकामसँग सिधा यातयात सञ्जालमा जोडिनेछन् ।

 

Source:solukhumbusamchar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय