ङिमातेण्डुपको घोषणा नारायणकाजीले गर्ने

२२ चैत्र, २०७३ – आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबैभन्दा पहिले उम्मेदवार घोषणा गर्ने भएको छ । पूर्वउपप्रधानमन्त्री तथा नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा बुधबार माओवादीले उम्मेदवार घोषणा शुरु गर्दैछ । सल्लेरीमा हुने बिशेष कार्यक्रममा श्रेष्ठले सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको उम्मेदवार घोषणा गर्नेछ ।
नगरपालिका प्रमुखको उम्मेदवार श्रेष्ठले घोषणा गरेसँगै माओवादीको उम्मेदवार घोषणा क्रम शुरु हुने माओवादी नेताहरुले बताएकाछन् । चैत्र २५ सम्म सम्बन्धित गाउँपालिकामा बिशेष कार्यक्रम गर्दै माओवादीले उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा हुनेछन् भने चैत्र महिनाभरीमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी घोषणा गर्ने माओवादी तयारी छ ।
चैत्र २३ गते बुधबार पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सोलुदुधकुण्ड नगरपालिकाका लागि प्रमुखमा ङिमातेण्डुप शेर्पालाई उम्मेदवार घोषणा गर्ने विश्वस्त श्रोतले जानकारी दिएको छ । माओवादी सम्बद्ध श्रोतले दिएको जानकारी अनुसार नगरपालिका सहित दुधकोशी गाउँपालिका, दुधकौशिका गाउँपालिका र लिखु पिके गाउँपालिकामा माओवादीले उम्मेदवार चयन गरिसकेको छ ।
अन्य गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी छनौट पनि माओवादीले अन्तिम चरणमा पु¥याएको छ । उम्मेदवारी घोषणा र चुनाबी प्रचार प्रसारको कार्यमा पहिलो देखिन लागेको माओवादी केन्द्रलाई यसले फाइदा गर्ने नेताहरुको विश्वास छ ।
पहिलो संविधान सभाको चुनाब जितेको नेकपा माओवादी केन्द्रका नेता गोपाल किराती यतिखेर जिल्लामा सक्रीय छैनन् । सो चुनाबपछि माओवादीको संगठन कमजोर देखिएको छ । दोश्रो संविधान सभाको चुनाबको मतलाई हेर्दा माओवादी केन्द्रले स्थानीय तहको चुनाब जित्ने कुरामा शंका गर्न सकिन्छ ।
तर संघीयता आफूहरुकै एजेण्डा भएकोले मुलुकमा अहिलेको परिवर्तन आएको बताउने माओवादी नेताहरु आफ्नो संगठन बलियो भएको र जनता स्थानीय तहको चुनाबमा नेकपा माओवादी केन्द्रलाई भोट हाल्न आतुर रहेको दाबी गर्छन् ।

स्थानीय तहमा माओवादी केन्द्रले छानेका उम्मेदवारहरु :

एमाले, जनमोर्चा हुँदै अहिले माओवादीमा रहेका ङिमातेण्डुप शेर्पा जिल्लाको एक मात्र नगरपालिकामा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बन्ने पक्का भएको छ । दुधकौशिका गाउँपालिकामा हिमाल गिरी, रामसंघर्ष किराती लगायत्का नेताको बिषयमा चर्चा चले पनि असिम राई उम्मेदवार बन्ने भएकाछन् । यस्तै दुधकोशी गाउँपालिकामा शिशिर खालिङ र लिखुपिके गाउँपालिकामा डम्बरबहादुर बस्नेत उम्मेदवार बन्ने भएकाछन् ।
माओवादी केन्द्रको तर्फवाट पूर्व सचिव समेत रहेका सागर किराती माहाकुलुङ गाउँपालिकामा उम्मेदवार बन्ने सम्भावना रहेको श्रोतले जनाएको छ । पार्टी संगठनहरुवाट किरातीलाई उम्मेदवार बनाउनु पर्ने माग बढि रहेको छ भने नेचा सल्यान गाउँपालिकावाट महेश किरातीलाई उम्मेदवार बनाउन माग गरिएको छ । यद्यपी नेचासल्यान गाउँपालिकामा रामेश्वर कार्की उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

source:solukhumbusamachar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय