काठमाडौँ : पर्वतारोहीको छाता संगठन नेपाल पर्वतारोहण संघले साउन २१ गते कार्यसमिति चयनका लागि चुनाव गर्ने निर्णय गरेको छ । तीन बर्षे कार्यकाल समाप्त भए पछि संघको बुधबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको संघका कोषाध्यक्ष टिकाराम गुरुङले जानकारी दिनुभयो ।
विधानत अधिवेशन ६ महिना अघिनै हुनुपर्ने भए पनि कार्यसमिति निर्वाचन भने साउनमा गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि मितितय गरेसँगै अध्यक्षका लागि सन्तवीर लामा, गत बर्षका प्रत्यसी निमानुरु शेर्पा, पूर्वमहासचिव भूमी लामा, पूर्वअध्यक्ष जिम्वाजाङवु शेर्पाको चर्चा छ । यता महासचिवका लागि हालका कोषाध्यक्ष टिकाराम गुरुङ र बोधराज भण्डारीको नाम चर्चामा छ । संघले सगरमाथा आरोहीलाई समेत मताधिकार प्रदान गरेको छ ।
२०३० मा स्थापना भएको नेपाल पर्वतारोहण संघले पर्यटन ऐन, २०३५ को दफा ३७ (२) बमोजिम सरकारले अधिकार दिएसँगै २०३५ सालदेखि हिमाल आरोहण वापतको सेवा शुल्क (रोयल्टी) संकलन गर्दे आएको छ ।
नेपाल सरकारको २०३४ माघ ५ को निर्णयले १८ साना चुचुराहरु आरोहण गर्न इच्छुक पदयात्री तथा पर्वतारोहीसँग सेवा शुल्क लिई आरोहण गर्न स्वीकृति दिने अधिकार संघलाई प्रदान गरेको थियो । दोस्रो पटक मन्त्रिपरिषद्ले २०५९ भदौ ३१ मा १५ थप गरी ३३ हिमालचुलीको रोयल्टी उठाउने, प्रर्वधन र व्यवस्थापन समेत गर्ने जिम्मा संघलाई दिएको थियो ।
सरकारले पाँच हजार आठ सय मिटर भन्दा होचा हिमाल आरोहण अनुमती नचाहिने निर्णय पछि ६ वटा हिमाल हटेर हाल समूह ए मा १२ समूह बी मा १५ गरी २७ हिमालबाट विदेशीलाई दुई सय ५० अमेरिकी डलर र नेपालीलाई चार हजार रुपैयाँसम्म सेवा शुल्क संकलन गर्दे आएको छ ।