शेर्पा जातिको महान चाड लोसारको अवसरमा शेर्पा किदुगले न्युयोर्कमा विभिन्न कार्यक्रमको साथ लोसार कार्यक्रम भव्यताको साथ मनाउने तयारी गरिरहेको छ । यही फेबुअरी २७ तारिखबाट सुरु हुन लागेको गेल्पो ल्होसारको दुई दिन अघि किदुगले पहिलोपटक गुथुकको दिन आफ्नै भवनमा शेर्पा लोक नृत्य शेर्पा सेब्रु प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ । उक्त दिन नृत्य प्रतियोगिताको साथै शेर्पा भाषा साहित्यको विकास तथा संरक्षणको लागी शेर्पा भाषाको गीत, कविता तथा निवन्ध वाचन कार्यक्रम राखिएको किदुगले जनाएको छ ।
‘किदुगको उद्देश्यअनुसार शेर्पा भाषा र संस्कृतिको जगेर्नाका लागि पहिलोपटक न्युयोर्कमा सेब्रु, कविता, गीत कार्यक्रमको आयोजना गर्न लागेका हौं,’ महासचिव आङ जाङबु शेर्पाले भने । उनकाअनुसार ७ विभिन्न समुहले सेब्रु प्रतियोगितामा भाग लिने भएको छ । त्यस्तै शेर्पा जातिको विशेष कार्यक्रममा गाउने मौलिक गीत टलु गीत ५ जनाले भाग लिन लागेको छ भने अन्य ४ वटा शेर्पा गीतहरु र ४ वटा कविता र निबन्ध प्रस्तुत गरिने भएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट न्युयोर्कमा आएका कलाकारहरुले सेब्रु गरिने भएको छ । प्रतियोगितामा १६ वर्षदेखि ३० वर्ष उमेरको समूह र ३० भन्दा माथि गरी दुई समूहमा प्रतिस्पर्धा गरिने भएको छ । उक्त प्रतियोगिताको निर्णयकहरुमा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक गिम्रि छोढक, लामा टुल्कु, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पा, किदुगका अध्यक्ष दावा जाङबु शेर्पा, उपाध्यक्ष ङिमा देण्डी शेर्पा र शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल रहेका छन् ।
प्रतियोगिता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने भएको किदुगले जनाएको छ । त्यस्तै किदुगले लोसारकै अवसरमा आयोजना गदै आएको लोसार साँझ कार्यक्रम मार्चको ४ तारिख क्विन्सव्लुबर्डस्थित दमिकेली हलमा हुने जानकारी दिएको छ । कार्यक्रममा शेर्पा जातिको मौलिक कला संस्कृति झल्कने विभिन्न कार्यक्रमहरु हुने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय