‘यहाँ नजिकै ग्लोबल आइएमई बैंक कहाँ छ होला ?’ यदि कसैलाई यो प्रश्न गरियो भने जवाफ हुन्छ– ‘जहाँ सबैभन्दा लामो युवाहरूको लाइन देख्नुहुन्छ, त्यही हो- ग्लोबल आइएमई ।’
र, यस्तै जवाफले अबको केही दिनसम्म निरन्तरता पाउनेछ । सन्दर्भ हो– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन फारम दर्ता ।
०००
अनामनगरबाट नयाँ बानेश्वरतिर आउँदा (हनुमान स्थान नपुग्दै) बाटो छेउमा एउटा लामो लाइन देखियो । त्यो लाइन त्यति अनुशासित थिएन । बरु बीच बीचबाट धेरै ठाउँमा भाँचिएको थियो । मान्छे यताउता छरप्रष्ट देखिन्थे । मलाई लाग्यो, सायद उनीहरुले नाम टिपाइ सकेर आफ्नो पालो पर्खिरहेका होलान् । लाइनको अगाडिपट्टि थियो, ग्लोबल आइएमइ बैंक । बन्द बैंक अगाडि पुरुष र महिला गरेर दुईतर्फि लाइन थिए । सबैका हात हातमा हरियो राहदानी देखिन्थ्यो । एकछिन ती युवालाई भेटेर रोजगारीका लागि कोरिया छनौट र भाषा परिक्षा सम्बन्धि मलाई केही कुरा गर्न मन भयो ।
०००
विगतका वर्षमा जस्तै यो वर्ष पनि नवौं कोरियन भाषा परिक्षाका लागि आवेदन फारम दर्ता गर्न देशका विभिन्न ग्लोबल आइएमइका शाखामा युवाहरुको भीड छ । धादिङमा जन्मेर कालिमाटीमा अस्थायी बसोबास गर्दै आइरहेका दिपक लुइँटेल भर्खर बीस वर्षका भए । जुँगाका रेखी अझै बसिसकेका छैनन् । तर उनी कोरियन भाषा आवेदनका लागि बिहानैदेखि लामवद्ध छन् ।
स्नातक तहमा भर्ना भएका दीपकले तिहार यता नियमित कोरियन भाषा अध्ययन गर्दै आएका छन् । भाषा पढ्नकै लागि बिहान सात बजे बागबजार आइपुग्छन् उनी । घनघोटी बञ्चरो गरेर पढेका उनको प्राथमिकतामा यतिबेला क्याम्पस भन्दापनि कोरियन भाषा रहेको छ ।
‘देशमा भएको अस्थिर राजनीति खिचातानी, र रोजगारीको अवस्था नहुँदा कोरिया जाने सोच बनाएको हुँ’ रोजगारीका लागि दक्षिण कोरिया नै छनोट गर्नुको कारण सुनाउँछन्– ‘भाषा पास गरेको अवस्थामा थोरै लगानीमा वैधानिक तरिकाबाट कोरिया जान सकिन्छ । कम्तिमा त्यहाँ जान सकियो भने कमाइ पनि राम्रो हुन्छ । दुईचार वर्ष कोरिया बसेर आइयो भने यहीँ केही गरौं भनेपनि सानोतिनो लगानिका लागि समस्या हुँदैन ।’
यस्तै लाइनमा उभिएका अर्का युवा हुन्, झलनाथ बिक । खोटाङको दुर्गमा गाउँमा जन्मिएका झलनाथ पनि उमेरमा दुई दशक कटिसकेका छैनन् । अब कक्षा एघार पढ्ने सोच बनाएका उनी यतिबेला कोरियन भाषा पढ्नकै लागि भनेर काठमाडौं आएका छन् । मासिक ९ हजार रूपैयाँ तिरेर उनी बागबजारकै एउटा होस्टलमा बस्छन् । उनको उद्देश्य भनेको नै कोरियन भाषा पास गरेर कोरिया जानु रहेको छ ।
‘कलेज त अर्को साल पढेपनि हुन्छ’ झलनाथ हाँस्दै भन्छन्– ‘तर कोरियन भाषा जति ढिलो भयो उति प्रतिस्पर्धा बढ्दै जान्छ ।’ सन् २००८ देखि नेपालले इपिएस् (इम्प्लोइमेण्ट पर्मिट सिस्टम) अन्तर्गत रोजगारीको लागि नेपाली कामदार कोरिया पठाउन थालेको हो । अहिले चालीस हजार भन्दा बढी नेपाली कामदार रहेको कोरियामा कृषि र औद्योगिक क्षेत्र गरि दुई श्रेणीमा कामजार जान पाउँछन् । अनामनगरको लाइनमा भेटिएका धेरै युवा, साँच्चिकै युवा नै छन् । उमेरमा २० देखि २५ भित्रका उनीहरु आफूँलाई पढ्दै गरेको विद्यार्थी भनेर चिनाउँछन् ।
जमुना श्रेष्ठ त्यसैको एक उदाहरण हुन् । घर काभ्रे । तर भक्तपुरमा बसेर कोरियन भाषा पढ्छिन्, जमुना । प्लस टु उत्तिर्ण गरिसकेकी उनी पनि अन्य युवाजस्तै कोरिया जाने सुरमा छिन् ।
मध्य वर्गीय परिवारमा जन्मेकि जमुना, एकैपटक धेरै लगानी गरेर अन्य देश जानसक्ने अवस्थामा छैनिन् । यदि गइहालेको खण्डमा त्यहाँ पुगेर पढ्नु पनि पर्छ । पढ्दै कमाउँदै गर्दा, कमाएको जति पढाइ खर्च, खाने बस्ने गर्दैमा सकिन्छ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । ‘तर कोरिया जाँदा त्यसो हुँदैन’ जीवनमा मनग्य पैसा कमाउने सोच राखेकी जमुनाको भनाइ छ, ‘त्यहाँ पुगेपछि त कसरी हुन्छ एकोहोरो पैसा मात्र कमाउने हो । कमाइ पनि राम्रै हुन्छ । बचाउन सकियो भने कोरिया गएकाले राम्रै पैसा बचाउन सक्छन् ।’
अन्य युवाले जस्तै जमुना पनि, राजनीतिलाई दोष दिन्छिन् । उनलाई देश बिगारेको नेताले नै हो भन्ने लाग्छ । निम्न वर्गका परिवारका लागि वैदेशिक रोजगार रहर नभए वाध्यता भएको स्वीकार्छिन्, जमुना ।
‘न समान शिक्षा नीति छ, न स्वरोजगारका कुनै सरकारी स्तरका कार्यक्रम छन्’ जमुना राज्यप्रति आक्रोश पोख्न भ्याउँछिन् । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा लिइन्छ, दक्षिण कोरिया । पछिल्लो समय काम र दाम दुबै राम्रो हुने भएपछि युवाहरुको आकर्षक गन्तव्य बनेको हो, कोरिया । तर कोरिया जान त्यति सहज भने छैन ।
कामदारका रुपमा कोरिया जानका लागि सबैभन्दा पहिले कोरियन भाषा कक्षा उत्तीर्ण हुनु अत्यावश्यक छ । त्यसपछि अन्य प्रक्रिया चल्छ । एकपटक भाषा उत्तीर्ण गरेको मितिबाट दुई वर्षसम्म त्यसको मान्यता रहन्छ । त्यतिबेलासम्म पनि कोरिया जाने प्रक्रिया सफल नभए अर्को भाषा कक्षा उत्तीर्ण हुनु पर्छ ।
तर फेरिपनि भाषा उत्तीर्ण गर्नु भनेको सतप्रतिशत कोरिया जानु भने होइन ।
-मीनराज बसन्त farakdhar