
उमाकान्त पाण्डे/उज्यालो ।
भदौ २० – युएईमा साढे तीन वर्षदेखि काम गर्दै आएकी सोलुखुम्बुको दुधकुण्ड ५ की २८ वर्षिया निग्मा शेर्पा गएको भदौ ४ गते आइतबार बिहान बेहोस भएरढल्नुभयो । छुट्टिका दिन साथीहरुसँग बजार हिंडेको बेला टाउको दुख्यो भनेर गाडीबाट झरे लगत्तै उहाँ सडकमै अचेत हुनुभयो ।
अचेत अवस्थामै उहाँलाई प्रहरीको सहयोगमा अलऐन अस्पताल पुर्याइएको थियो । अस्पतालले निग्मालाई त्यसै दिन दिउँसो २ बजे मृत घोषणा गरेको थियो । घर बिदामा नेपाल गएर फर्केको चार दिनमा नै निग्माको ज्यान गएको हो । ड्याज्जल ट्रान्स्पोर्ट कम्पनीमा कार्यरत उहाँका घरबिदामा गएका बेला मगनी समेत भएको थियो ।
सुरुमा स्वाइन फ्लुका कारण निग्माको ज्यान गएको हुन सक्ने अस्पतालले अनुमान गरेको थियो । तर अस्पतालले मृत्युको कारण उच्च जोखिमपूर्ण भाइरसका कारण हुन सक्ने भन्दै अनुसन्धान अघि बढायो । रिपोर्ट थप परीक्षणका लागि अस्पतालले जर्मनी पठाएको थियो । मृत्यु शंकास्पद भाइरसका कारणले भएको हुनसक्ने अनुमान भएपछि निग्माको शव ‘आइसोलेट’ गरेर राखिएको छ । जहाँ कसैले शव हेर्न पाउँदैनन् ।
मृत्यु भएको दुई हप्ता बितिसक्दा पनि निग्माको शव अस्पतालको उही कक्षमा छ । निग्माको मृत्यु स्वाइन फ्लुको कारण नभई खतरानक भाइरसको आक्रमण भएको भन्ने रिपोर्ट आइसकेको छ । अस्पतालको पछिल्लो रिपोर्ट अनुसार उहाँको मृत्यु ‘टोक्सिस सक सिन्ड्रम, सेप्टिक सक’ भएको उल्लेख छ । त्यो भनेको पहिले देखि नै श्वासप्रश्वास तथा अन्य बिरामी भएको र पछि त्यसैमा संक्रमण भएकाले ज्यान गएको भन्ने हो । सेप्टिक घात भाइरल सर्ने सम्भावन धेरै रहेको चिकित्सकहरुको भनाइ छ ।
त्यसैले काम गर्ने कम्पनीमा निग्माले प्रयोग गर्ने कपडा, भाँडावर्तन नष्ट गरिएको छ । सँगै कोठामा बस्ने अरु कामदारलाई बिदा दिएर अन्यत्र सारिएको उहासँगै कार्यरत पसी शेर्पाले जानकारी दिनुभयो ।
अन्यत्र सर्ने जीवाणुका कारण शव लैजाने क्रममा सर्न सक्ने र त्यो यहाँको कानुन विपरित हुने भएकाले शव नेपाल लैजान नपाइने अस्पतालले जनाएको छ । युएई आएर पनि शव हेर्न सजिलै नपाइने भएकाले समस्या भएको निग्माका श्रीमान् कि छिरिङ्ग शेर्पाले बताउनुभयो । परिवारले मृतकको सम्झनामा सोलुखुम्बुमै बौद्ध संस्कार अनुसार पूजाआजा गरिरहेका छन् ।
युएईमै दाहसंस्कार गर्न परिवार र नेपाली दूतावासको अनुमती अनिवार्य भएकाले अहिलेसम्म शव अस्पतालमै राखिएको छ । कम्पनीले भिसा रद्द गरेर अन्य क्षतिपूर्ति सहित कानूनी प्रक्रिया पूरा गरेर दूतावासमा आएपछि थप प्रक्रिया सुरु गर्ने दूतावासका प्रवक्ता कृष्ण अर्यालले बताउनुभयो ।
नेपाली समाज युएईका संयोजक गोविन्द ढकाल, गोरखा समाज युएईका अध्यक्ष विनाेद श्रेष्ठ र जनसम्पर्क समितिका मणी लामा लगायतले अस्पताल जाने आउने र अस्पतालको रिपोर्ट ल्याउने गरिरहनु भएको छ । युएईमा रहेको शेर्पा किदुङका कार्यवाहक अध्यक्ष निमा शेर्पा र जनजाति महासंघका अध्यक्ष पाशाङ शेर्पाले यसबारे परिवारजन तथा कम्पनीसँग सम्पर्क गरिरहनु भएको छ ।