काठमाडौं । राष्ट्रिय तामाङ घेदुङले विवादको बाबजुद पनि २८५४ औं सोनाम ल्होछार मनाएको छ ।
सरकारले दिएको विदा सदुपयोग गरी बिहिबार घेदुङले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम गरी खि ल्हो (कुकुर बर्ष) सोनाम ल्होछार मनाएका हुन् ।
ल्होछार मूल आयोजक समितिका संयोजक विरबहादुर तामाङले बताएअनुसार प्राविधिक कारणले गर्दा टुँडिखेलको ल्होछार समारोह सार्नुपरेको हो ।
ल्होछार समारोहमा तामाङ समुदायले झाँकी तथा गीतसंगीत प्रस्तुत गरेका थिए । भृकुटीमण्डप भएको कार्यक्रममा सम्पूर्ण ल्होछारप्रेमीलाई असहजको महसुस भने प्रष्टै देखिन्छ ।
तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।
तिथिको विषयमा एक पक्षीय माघलाई नै ल्हो फेर्ने र अर्काे पक्ष यस वर्ष फागुनमा मात्र ल्हो फेर्ने भनिएका छन् ।
नेपाल तामाङ घेदुङले मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) यस वर्षको फागुन ४ मा परेको हुनाले ल्होछार त्यसै दिन मान्ने तयारीमा रहेकाे अध्यक्ष मोहन गोलेले बताए ।
तिथिअनुसार ल्होछारको बिदा नमिलेको भन्दै तामाङ घेदुङले बिदा सच्याउन सरकारसँग माग गरेका थिए।
नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ । तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ ।
विदेशको विभिन्न भूमिमा पनि छुट्टी मिलाएर ल्होछारको मिति तय गरेको छ । नेपालबाट अतिथि कलाकारहरु ल्होछार सांगीतिक कार्यक्रमका लागि जापान, मलेसिया, कुवेत, कतार, दुबई, स्वीजरल्याण्ड, जर्मन लगायतका देशमा पुगिसकेका छन् ।
-sailung online