‘बढाउँछौं भन्थे नेताहरू तर भत्ता त बढेर आएन,’ उनले भनिन् । उनीसँगै भत्ता लिन आएकी धनश्वरा सुनार पनि निराश भइन् । ‘दोब्बर भत्ता बढाइदिन्छौं भनेकाले पनि हामी ढुक्क भएर आएका थियौं,’ उनले भनिन्, ‘बढाइदिएनन् । के भएछ कुन्नि ।’ यति बेला बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न आउने वृद्धवृद्धामध्ये धेरैलाई चुनावी नारा सम्झना छ । उनीहरूमध्ये धेरैले भत्ता बढेर आउने आस गरेको बताएका छन् ।

असार २८, २०७४- पुतलीबजार नगरपालिका ४ की नानीमाया सुनारले पहिलेजस्तै योपटक पनि ४ महिनाको ८ हजार भत्ता बुझिन् । तर, उनको आशा भने १६ हजार बुझ्ने रहेछ । स्थानीय तहको निर्वाचनको प्रचारका क्रममा दलहरू वृद्ध भत्ता बढाइदिने नारा लिएर घरघर पुगेका थिए । त्यसैले उनलाई चुनावपछि भत्ताको रकम बढ्छ भन्ने लागेको थियो ।

जिल्ला समन्वय समितिका अनुसार स्याङ्जामा वृद्ध भत्ता पाउनेको संख्या १५ हजार २ सय १८ छ । यसमा वृद्धा ७ हजार ९ सय ४८ र वृद्ध ७ हजार २ सय ७० जना छन् । उनीहरूलाई भत्तामा वार्षिक ३६ करोड ५२ लाख ३२ हजार वितरण हुँदै आएको छ । यस्तै १ हजार ३६ पुरुष र १ हजार ९२ महिला गरी ज्येष्ठ दलितको संख्या २ हजार १ सय २८ छ । जसका लागि वार्षिक २ करोड ५५ लाख ३६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तास्वरूप वितरण हुने गरेको छ । यस्तै २ हजार १ सय ११ जना एकल महिला छन्, जसका लागि वार्षिक २ करोड ५३ लाख ३२ हजार वितरण हुन्छ भने ५ हजार १ सय ८७ जना एकल महिलाका लागि ६ करोड २२ लाख ४४ हजार वितरण हुने गरेको तथ्यांक छ ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी तत्काल वृद्ध भत्ता बढाउन स्रोत पर्याप्त नभएको बताउँछन् । ‘हामीले अप्ठ्यारोमा परेकालाई सहजीकरण गर्ने भनेका छौं,’ उनले भने, ‘भत्ता वृद्धि गर्न बजेट भएन । भत्ता बुझ्न घरबाट हिँडदा दिन नै बिताउनुपर्ने वृद्धवृद्धालाई अब मोबाइल बंैकिङ प्रक्रिया लागू गर्ने तयारीमा छौं ।’
‘पाँच वर्षभित्रमा हामी भत्ता वृद्धि गर्छौं,’ उनले भनिन्, ‘हाम्रो मुख्य एजेन्डा पनि हो । चुनावमा बोलेका छौं, घोषणापत्रमा लेखेका पनि छौं । तत्काल भत्ता वृद्धि गर्न केन्द्रीय सरकारले रोक लगायो । त्यसैले हामी चुप छौं ।’

प्रदेश र केन्द्रको चुनावपछि सरकारले ल्याउने नीतिअनुसार काम गर्नुपर्ने भएकाले जनप्रतिनिधिले चुनाव अघि बोलेका कुरा नबिर्सने उनले बताइन् । स्थानीय तह चुनाव लगतै भत्ताको रकम बढ्छ भन्ने ठानेका ज्येष्ठ नागरिकहरू भने अहिले केही निराश छन् । बैंकका काउन्टरमा पुगेर रकम बझनुअघि कर्मचारीलाई सोध्ने गरेका छन्– बाबु, भत्तामा कति पैसा बढेर आयो ?’

source:kantipur

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय