२६ शेर्पा विद्यार्थी सम्मानित

काठमाडौं:– ‘शेर्पा लोसार साँझ २१४४’ को अवसरमा २६ जना शेर्पा विद्यार्थी सम्मानित भएका छन् ।
नेपाल शेर्पा विद्यार्थी संघले सुक्रबार ‘शेर्पा लोसार साँझ २१४४’ को अवसरमा राजधानीमा गरेको कार्यक्रममा विद्यार्थीलाई सम्मान तथा छात्रवृत्तिसहित पुरस्कृत गरिएको छ ।

संघले हिमालय ट्रष्ट विद्या पुरस्कारबाट ५ जना, शेर्पा महिला विद्या पुरस्कारबाट ५ जना, स्वर्गीय आङ दोर्जे शेर्पा स्मृति पुरस्कारबाट २ जना, लामा कुसाङ स्मृति विद्या पुरस्कारबाट २ जना, शेर्पा विद्या पुरस्कारबाट १ जना, पासाङ तेण्डी शेर्पा विद्या पुरस्कारबाट ४ जना पुरस्कृत भएका छन् ।
त्यसैगरी शेर्पा विद्यार्थी संघ छात्रवृत्तिबाट २ जना, निमा ग्याल्जेन शेर्पा गोर्पामा ईलाम विद्या पुरस्कारबाट २ जना र शेर्पा सुनाम म्याक्स विद्या पुरस्कारबाट सम्मानित भएका छन् । उनीहरुलाई अष्ट्रेलियाका लागि नेपाली राजदुतमा लक्की शेर्पाले पुरस्कार तथा सम्मान पत्र वितरण गरिन् ।
कार्यक्रममा राजदुत शेर्पाले इतिहासमा शेर्पा समुदायले विश्वसामु नेपालको नाम चिनाउन अग्रणी भुमिका खेलेको र अब शिक्षा क्षेत्रमा पनि अग्रणी स्थान ओगट्नु पर्नेमा जोड दिइन् ।

उनले तेन्जिङ नोर्गे शेर्पा र पासाङ ल्हामु शेर्पाले पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर बिश्व किर्तिमानी कायम गरेको स्मरण गर्दै शेर्पा समुदायले अबको समयमा आर्थिक, शैक्षिक र राजीतिक क्षेत्रमा पनि फड्को मार्नुपर्ने बताइन् । उनले अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने पनि बताइन् ।
नेपाल शेर्पा संघका अध्यक्ष एडि लामाले पुरस्कारद्वारा विद्यार्थीको हौसला बढेको बताए । उनले आफ्ना अधिकारका लागि सचेत हुन पनि शिक्षा महत्वपूर्ण हुने भएकाले शेर्पा विद्यार्थी शिक्षा क्षेत्रमा अगाडी बढ्नुपर्ने बताए । उनले भने, ‘शिक्षालाई जोड दिई सम्पुर्ण शेर्पा समुदायले आफ्नो हक अधिकारका लागि एकताबद्ध भएर लागेमा प्रशासन तहसम्म शेर्पाहरु पनि पुग्न सकिन्छ ।’

उनले शेर्पा जातिले नेपालको इतिहास रचनामा महत्वपूर्ण भुमिका खेलेको भए पनि राज्यका सबै निकायहरुमा उनीहरु पछाडि पारिएकाले अबको आन्दोलन अधिकार प्राप्तीको आन्दोलन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजदुत शेर्पा, पर्यटनमा बिषेश योगदान पु¥याउने आङ छिरिङ शेर्पा, खेलकुदमा उत्कृष्ठ भएकी प्रतिमा शेर्पा लगायतलाई सम्मान तथा कदर पत्र वितरण गरिएको थियो ।
त्यसैगरी सो अवसरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय