हिमाली सन्देश काठमाडौं, ७ कात्तिक । नेपाल आदिवासी जनजाति युवा महासंघले गायक सागर आलेलाई ५ लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
मंगलबार काठमाडौंको अनामनगरस्थित बिनायो क्याफेमा आयोजित महासंघको सचिवालय बैठकको अवसरमा महासंघले नेपाल आइडलको ‘टप फोर राउण्ड’बाट बाहिरिएका सागर आलेलाई रकम हस्तान्तरण गरेको हो ।
महासंघका महासचिव हेमन्त राईले युवा महासंघ हङकङ शाखाको पहलमा संकलन गरिएको आर्थिक सहयोग आलेलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार सो रकम हङकङमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुबाट संकलन गरिएको हो ।
नेपाल आइडलको ‘टप फोर’बाटै बाहिरिएपछि सामान्य आर्थिक अवस्था रहेका सागर आलेलाई देशविदेशमा आर्थिक सहयोग जुटाउने अभियान नै चलेको थियो । युवा महासंघ हङकङ शाखाले पनि सोही बखत आर्थिक संकलन गरेको महासचिव राईले बताए ।
युवा महासंघबाट ५ लाख ३२ हजार ५ सय १ रुपैयाँ सहयोग पाएपछि सागर आलेले नेपाली संगीत क्षेत्रमा आफूले सक्दो योगदान दिने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नाे शुभचिन्तकहरुले आर्थिक सहयोग जुटाएर सहयोग गरेकाले त्यसले आफूलाई थप हौसला प्राप्त भएको बताए ।
युवा महासंघका अध्यक्ष जीएस गुरुङले देश प्रेम र आदिवासी जनजातिको पहिचान झल्कने गीत संगीत सिर्जना गर्नका लागि पनि आलेसँग आग्रह गरे ।
युवा महासंघले स्थापना कालदेखि नै आदिवासी जनजातिको अधिकारमूखी आन्दोलन र संघर्षमा महत्वपूर्ण योगदान दिदै आएको स्मरण गर्दै उनले संगीत क्षेत्रबाट पनि आदिवासीहरुको पहिचान र अधिकारको आन्दोलनमा योगदान दिन सकिने बताए ।
राष्ट्रिय सम्मेलन, आगामी पुस पहिलो हप्ता
महासंघको सचिवालय बैठकले आगामी मंसिरमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन आगामी पुस पहिलो हप्ता गर्ने निर्णय गरेको छ । मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने भएकोले महासंघको राष्ट्रिय सम्मेलन आगामी पुस ६, ७ र ८ गते राजधानीमा गर्ने निर्णय गरिएको हो ।
मुलुक संघीय संरचनामा गइसकेकाले मुलुकको संरचनाअनुसार महासंघको संरचना बनाउनका लागि विधान संशोधन गर्नुपर्ने भएकाले राष्ट्रिय अधिवेशनको तयारी गरिएको महासंघका अध्यक्ष जीएस गुरुङले बताए ।
source:SARBAJANIK KHABAR