
सुबास दर्नाल/७ साउन – भुकम्प प्रभावितको लाभग्राहीको सुचिमा परेका सोलुखुम्बुका भुकम्प पीडितलाई निजी आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम वितरण शुरु गरिने भएको छ । लाभग्राहीको सुचिमा परेका जिल्लाका १० हजार ७९४ घरधुरी मध्ये सम्झौता गरेका ८ हजार ९५ लाभग्राहीलाई साउनको दोस्रो सातादेखि अनुदान बितरण गरिने भएको हो ।
साबिकको गाविसहरु नाम्चे, चौरीखर्क र खुम्जुङ बाहेकका गाविसका पीडितलाई पहिलो किस्ता वितरणको तयारी भईरहेको छ । जसको लागि संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तरगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट सोलुखुम्बुका लागि ३७ करोड ७७ लाख ९० हजार रुपैयाँ रकम निकासा भई सकेको जिल्ला समन्वय समितिका भुकम्प सम्पर्क व्यक्ति भोजनारण राजभण्डारीले जानकारी दिनुभयो ।
जिल्लाको साबिक एक नगरपालिका सहित २७ गाविसमा माघ, फागुन र चैत्र महिनामा लगत संकलन गरिएको भए पनि सगरमाथाको काखमा रहेका तीन गाविस नाम्चे, खुम्जुङ र चौरिखर्कमा भने मौसम प्रतिकुलताको कारण बैशाखमा मात्र तथ्याङ्क संकलन गरिएको थियो ।
तथ्याङ्क संकलनको काम नै ढिलाई भएको साबिक तीन गाविसको तथ्याङ्क भने जिल्ला समन्वय समितिको कार्यालय सोलुखुम्बुमा प्राप्त भएको छैन । अनुदान पाउन योग्य घरधुरीलाई जिल्लाको दुई वटा बैंकबाट रकम वितरणको तयारी गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय सल्लेरीबाट साबिकको १७ गाविस र कृषि बिकास बैंक शाखा कार्यालय सल्लेरीबाट साबिकको १२ गाविसका लाभग्राहीलाई रकम वितरणको व्यवस्था मिलाईएको राजभण्डारीले जानकारी दिए ।
बिनासकारी भुकम्प गएको २७ महिना पछि निजी आवास पुर्ननिर्माणको लागि अनुदान स्वरुप पहिलो किस्ताको रकम सोलुखुम्बुका प्रभावितले पाउने भएपछि उनीहरु हर्षित छन् । उनीहरुले पहिलो किस्ता बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।