सोलुखुम्बु, असार २९– सोलुखुम्बुमा स्थानीय तह दोस्रो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका १ सय ८१ जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको कुल सदर मत मध्ये १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका कम्प्युटर अपरेटर एवं सूचना अधिकारी जगनाथ दाहालले मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्यहरुको गरी १ सय ८१ जनाको जमानत जफत भएको जानकारी दिनुभयो।

खुम्बुपासाङ पासाङल्हामु गाउँपालिकामा जना, दुधकोशी गाउँपालिकामा १४ जना, दुधकौशिका गाउँपालिकामा २७ जना, महाकुलुङमा ४ जना, नेचासल्यान गाउँपालिकामा ३० जना, लिखुपिके गाउँपालिकामा ३६ जना, सोताङ गाउँपालिकामा १४ जना, सोलुदुधकुण्ड नगरपालिका ५१ जनाको जमानत जफत गरिएको हो । एक नगरपालिका र ७ गाउँपालिकाको २ सय ७६ पदमा ९ सय ४३ जनाको उम्मेदवारी परेको थियो ।

असार १४ गते सम्पन्न भएको निर्वाचनबाट दलित महिला सदस्यमा एक जना निर्विरोधसहित २ सय ६९ जना निर्वाचित हुनुभएको छ । यसरी १ सय ६० जना पुरुष र १ सय ९ जना महिला निर्वाचित भएका छन् । सोलुखुम्बुमा प्रमुख पदमा महिला निर्वाचित भएका छैनन् । उपमेयरसहित उपप्रमुखमा ८ जना महिला निर्वाचित हुनुभएको छ । मेयरसहित गाउँपालिकाको प्रमुखमा ८ जना पुरुष निर्वाचित हुनुभएको छ ।

५१ वटा वडाको वडाअध्यक्षमा सबै पुरुष निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यमा एक जना महिला सहित १ सय १ जना पुरुष गरी १ सय २ जना निर्वाचित हुनुभएको छ । महिला सदस्य ५१ जना, दलित महिला सदस्य ४८ जना निर्वाचित हुनुभएको छ । सुचना अधिकारी दाहालका अनुसार मेयरमा एक जना, उपमयेरमा ४ जना, गाउँपालिकाको अध्यक्ष पदमा २ जना, उपाध्यक्ष पदमा २५ जना, खुल्ला सदस्यमा १२ जना , वडा अध्यक्षमा २ जना महिलाले उम्मेदवारी दिएका थिए ।

नेचासल्यान गाउँपालिका वडा नं ६ तिंलाका स्थानीय बासिन्दले निर्वाचनमा भाग नलिएपछि ५ जना, महाकुलुङ गाउँपालिका वडा नं ५ र सोताङ गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य एक एक जना गरी ७ जनाको पद खाली रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय