हिमाली सन्देश बुधवार, कात्तिक १, २०७४ काठमाडौं : नेपालको पर्वतारोहणमा मेडिकल गाइडका रूपमा डाक्टर निमा नामग्यल शेर्पाले १५ वर्षदेखि उपचार गर्दै आएका छन्। आरोहणका क्रममा हिमालको चुचुरोसम्मै पुगेर पर्वतारोहीको उपचार गर्ने नेपालका उनी एक मात्र डाक्टर हुन्। बुबा ट्रेकिङ जाँदा आमासँग होटलमा हुर्केका उनी सामान्य समस्या मानिने हाई अल्टिच्युड पचाउन नसक्दा दर्जनौं आरोहीको अकालमै मृत्यु हुने गरेकाले हिमालमा उपचार गर्दै आएका छन्। उनी वीर अस्पतालको दरबन्दी छाडेर हिमालमा उपचारमा संलग्न भएका हुन्।
३४ बर्से उनले चीनको तियान्जिङ मेडिकल युनिभर्सिटीबाट ०६६ सालमा एमबीबीएस गरेपछि नेपाल मेडिकल काउन्सिलबाट १०१५९ नम्बरको चिकित्सक लाइसेन्स लिएका छन्। मेडिकेयर र वीर अस्पतालमा काम गरे पनि हिमालमै काम गर्न उत्सुक भएको भन्दै बर्सेनि औषधिलगायत उपचारका उपकरणसहित उनी चुचुरोसम्म पुग्ने गरेका छन्।

सोलुखुम्बु खुम्जुङमा जन्मिएका निमाले ४५ सय मिटर उचाइमा रहेको गोक्यो पोखरीनजिक आमाले सञ्चालन गरेको होटलमा बाल्यकाल बिताए। बाल्यकालमा हाई अल्टिच्युड पचाउन नसक्दा आरोहीले भोग्ने समस्या र औषधोपचार अभावमा मृत्यु भएको देखेपछि आफू डाक्टर भएर हिमालमै काम गर्ने इच्छा पलाएको बताए। उनले मनास्लु, सगरमाथा, आमादब्लम, डेनाली हिमालको चुचुरोसम्म पुगेर बिरामीको उपचार गरेका छन्। ‘उचाइमा लाग्ने हाई अल्टिच्युड सामान्य समस्या हो’, उनले भने, ‘रोकथाम गरे निको हुने भए पनि सयौं आरोहीले अकालमा ज्यान गुमाएको देखेर म हरेक सिजनमा हिमाल आरोहणमा जान्छु र उपचार तथा सल्लाह दिन्छु।’

उनी चिकित्साशास्त्रको अध्ययनपछि इटलीबाट माउन्टेन मेडिसिन डिप्लोमा, माउन्टेन इमरजेन्सी मेडिसिन र नेपालमै रेक्स्यु तालिम लिएर दक्षतापूर्वक हिमालमा काम गर्दै आएका छन्। अमेरिकाबाट आउटडोर लिडरसिप एजुकेसन डिप्लोमा कोर्स गरेपछि ०६० देखि निरन्तर हिमालमै उपचारमा संलग्न हँदै आएका छन्।
चिकित्सकले एउटै ठाउँभन्दा विभिन्न क्षेत्रमा काम गर्नुपर्ने र दुर्गममा सर्वसाधारणको उपचार गर्नुपर्ने उनको सुझाव छ। केही समय हिमालमा काम गर्दा मेडिकल गाइडका रूपमा शिखरसम्म पुगेर उपचार गरेको अनुभव उनले सुनाए। चिकित्सक सँगै हुँदा आरोहीसमेत ढुक्क भएर आरोहण गर्दा सफल हुने गरेको अनुभव उनी सुनाउँछन्। अहिले भने उनले काइतु एक्स्पेडिसन कम्पनी स्थापना गरेर पर्वतारोहणसमेत गराउन थालेका छन्।

सन् २०१४ अक्टोबरमा हिमपहिरो र भूकम्पले हिमालमा दर्जनौंको ज्यान गए पनि केही बिरामीलाई उनले तत्काल उपचार गरेका थिए। मनास्लुमा सन् २०१२ सेप्टेम्बर २३ मा १२ जनाको मृत्यु हुँदा र तेस्रो क्याम्प क्षतिग्रस्त हुँदा पनि उनी त्यहीँ थिए। त्यसबेला एक्स्पेडिसन म्यानेजर, डाक्टर, गाइडका रूपमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

‘हाई अल्टिच्युड रोग होइन, समस्या हो। रोकथाम भए तुरुन्त जीवन जोगिन्छ। स्वास्थ्यको दृष्टिले २ हजार ५ सय मिटरभन्दा माथि वायुमण्डल पातलो हुने भएकाले शरीरमा अक्सिजन कमी हुन जान्छ र हाई अल्टिच्युड लाग्ने गर्छ।’-निमा नामग्यल शेर्पा, चिकित्सक

चर्चित आरोही रोसल ब्राइसले हिमालमा मेडिकल सुरक्षा अपनाउन थालेपछि निमा पनि आरोहणमा चिकित्सकका रूपमा जान थालेका हुन्। सबै आरोहण दलमा एक जना चिकित्सक अनिवार्य संलग्न गराए आरोही सुरक्षित हुने उनको भनाइ छ। ‘हाई अल्टिच्युड रोग होइन, समस्या हो। यसबाट कसैको पनि ज्यान जानु हुँदैन भन्ने मेरो सोच हो’, उनी भन्छन्, ‘रोकथाम भए तुरुन्तै जीवन जोगिन्छ। स्वास्थ्यको दृष्टिले २ हजार ५ सय मिटरभन्दा माथि वायुमण्डल पातलो हुने भएकाले शरीरमा अक्सिजन कमी हुन जान्छ र हाई अल्टिच्युड लाग्ने गर्छ।’

हाई अल्टिच्युडबाट व्यक्तिको शारीरिक भिन्नता, समय र अवस्थाले पनि लाग्ने गर्छ। मौसम, पसिना आउनु, पानी नपिउनु, चिसो, शरीर न्यानो राख्न नसक्नु, अक्सिजन कमी हुँदा पनि उचाइमा हाई अल्टिच्युड लाग्न सक्छ। हिमाल आरोहणमा जानुअघि तालिम लिनु अनिवार्य छ। हिमालमा दैनिक ३ देखि ५ सय मिटर हिँड्नु उपयुक्त मानिन्छ। ४ देखि ५ लिटर पानी पिउनु अनिवार्यजस्तै हुन्छ। हाई अल्टिच्युडको शंका लागे पहिले आफैं सतर्क हुनुपर्ने, खुलेर आफ्नो समस्या साथीलाई भन्नुपर्ने उनले बताए।
Source:annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय