सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिका–२ मा सञ्चालन भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा ७२९ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। असोज १२ गतेदेखि १४ गतेसम्म (सेप्टेम्बर २८ देखि ३०, २०२५) चलेको यस शिविरबाट स्थानीय जनताले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सुविधा लिएका हुन्।

नगरपालिकाको आयोजना तथा वडा नं. २ को सहआयोजनामा सम्पन्न यो शिविर कुशुदेबु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौं र वाइल्डरनेस इन नेपाल, अस्ट्रेलियाको प्रायोजनमा सञ्चालन भएको थियो। शिविर संयोजक छिरीङ शेर्पाले दिएको जानकारी अनुसार, शिविरमा स्वदेशी विशेषज्ञ चिकित्सक र विदेशी स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

शिविरमा स्थानीय जनतालाई विभिन्न महत्वपूर्ण निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गराइएको थियो। विशेषगरी स्त्रीरोग सम्बन्धी स्वास्थ्य जाँच तथा उपचार, हाड जोर्नी तथा नशा सम्बन्धी, पेट रोग तथा ग्यास्ट्रिक सम्बन्धी रोगहरूको परीक्षण र उपचार गरिएको शेर्पाले जानकारी दिनुभयो। यसका साथै, पाठेघरको मुखको क्यान्सर VIA परीक्षण, स्तन तथा शरीरमा देखिने गाँठागुँठीको बायोराड परीक्षण, पाठेघरमा रिङ पेसरी राख्ने सेवा, सामान्य स्वास्थ्य परीक्षण, फिजियोथेरापी, ल्याब सेवा र ई.सि.जी./भिडियो एक्सरे जस्ता महत्वपूर्ण सेवाहरू पनि सफलतापूर्वक प्रदान गरिएको थियो।

आयोजक पक्षले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तर सञ्चालन गर्ने अपेक्षा व्यक्त गरेका छन्। शिविरको दौरान कुशुदेबु जनस्वास्थ्य अभियान नेपालले २७ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय