पोखराको पर्यटकीय क्षेत्र लकेसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले बाटोमा हिँडेका पर्यटकलाई नशालु पदार्थ सेवन गर्नको लागि दबाब दिने र नमानेमा आंतकित बनाउनेलाई पक्राउ गरेको हो ।
सोमबार राती लेकसाइडको बिजिबी गल्लीबाट ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीष मगर, कास्कीको माछापुच्छ्रे«े गाउँपालिका–५ का २० वर्षीय सन्देश विक, पोखरा–६ ठाडो पसलका ३० वर्षीय सुरेश थापा, पोखरा–५ जरेबरका २९ वर्षीय महेन्द्र भण्डारी र गोरखाको भीमसेन गाउँपालिका–८ का ३२ वर्षीय सुरेश थापा रहेका छन् ।
पर्यटकलाई आतङ्कित गराएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सम्झाउन खोज्दा उल्टै प्रहरीलाई अपशब्द बोल्दै विवाद सिर्जना गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
सोमबार राती नै लेकसाइडमा अशान्ति फैलाउन खोजेको आरोपमा प्रहरीले बाग्लुङको काठेखोला घर भई पोखराको मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङजाको गल्याङ घर भई पोखराको काजीपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार बेलुका पृथ्वीचोकस्थित चाइनाको पुलमा शंकास्पद अवस्थामा हिँडिरहेका युवालाई सोधपुछ गर्दा प्रहरीमाथि जाइलागेपछि पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेललाई नियन्त्रणमा लिएको छ ।
मंगलबार विहान लेकसाइडकै स्ट्रिट नम्बर ४ अगाडी मर्निङ वाकमा हिँडेका महिलालाई अपशब्द गर्दै हातपात गर्न खोज्ने बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भई हाल पोखरा बस्ने २७ वर्षी डिल्लीप्रसाद पौडेल (डेविड) पक्राउ परेका छन् ।
पक्राउ परेका १० जनालाइ नै मंगलबार जिल्ला अदालत कास्कीबाट छुट्टाछुट्टै अभद्र व्यवहार सम्बन्धि मुद्वामा ७ दिनको म्याद थप गरेको छ । पक्राउ परेका विरुद्ध थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
@Public 4k





