
पूर्वोत्तर भारतमा रोजगारीका लागि जाँदा “यथेष्ट जानकारी लिएर” तथा “कानुनले रोक नलगाएका क्षेत्रमा” मात्र काम गर्न जान नेपाली अधिकारी तथा आप्रवासी कामदारका क्षेत्रमा कार्यरत भारतीय अधिकारकर्मीले नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्।
भारतको पूर्वोत्तर राज्य मेघालयको ग्रामीण क्षेत्रस्थित एउटा ‘अवैध कोइलाखानी’मा काम गर्ने कम्तीमा एक नेपाली नागरिकको हत्या भएको पुष्टि भएसँगै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।त्यहाँ चार जनाको हत्या भएको विवरण आएको थियो।
तीमध्ये एक नेपाली नागरिक रहेको पुष्टि भएको छ। अर्का एक नेपालीभाषी व्यक्तिको पनि हत्या भएको बताइएको छ।विशेष गरी पूर्वोत्तर भारतका विभिन्न राज्यका कैयौँ स्थानमा “अवैध” कोइलाखानी सञ्चालनमा रहेको जानकारहरू बताउँछन्।
विगतमा त्यस्ता कोइलाखानीमा कतिपय अवस्थामा नेपाली नागरिकहरू “बँधुवा मजदुर”का रूपमा समेत काम गर्न बाध्य भएको विवरण आउने गरेका थिए।
उनीहरूका भनाइमा स्थानीयवासीलाई ती व्यावसायिक गतिविधिहरू “अवैध” रहेको जानकारी भए पनि अधिकांश नेपाली मजदुरहरूलाई त्यसबारे थाहा हुँदैन।
त्यसले गर्दा उनीहरू पक्राउ पर्ने र कानुनी कारबाहीमा समेत पर्ने गरेका छन्।
अहिले के भएको हो?
दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा सुरेन्द्र थापाका अनुसार मेघालयको ग्रामीण पहाडी क्षेत्रमा “चार नेपालीको हत्या भएको” विवरण आएपछि दूतावासले त्यसबारे भारतको विदेश मन्त्रालयमार्फत् चासो व्यक्त गरेको थियो।
“त्यसपछि हामीले त्यहाँको स्थानीय प्रशासनसँग र मेघालयस्थित नेपाली समुदायसँग पनि सम्पर्क गर्यौँ,” उनले भने।
“उक्त घटनापछि स्थानीय प्रहरीले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेर अनुसन्धान अघि बढाएको रहेछ। त्यस क्रममा इलामका रवि राई र सुनसरीको धरानका राजेश राईको पनि हत्या भएको थाहा भएको जानकारी आयो।”यद्यपि इलामका रवि राईका पिता नै उक्त क्षेत्रमा गएर बसोबास गरिरहेको र उनी उतै जन्मिएको विवरण आएको छ।
“अवैध कोइलाखानी”मा काम गर्ने नेपाली नागरिकको हत्या भएपछि उनको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन तथा हत्यारा पत्ता लगाई कारबाही गर्नका लागि दूतावासले भारत सरकारलाई अनुरोध गरिसकेको डा थापाले बताए।
उक्त हत्याको कारण अहिलेसम्म नखुलेको र स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको थापाले बताए।
news source : bbcnepali