आगामी कार्यकाल २०२५-२०२७ को लागि यहि मिति २०२५ जुलाई २७ तारिख आइतबारका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र सो संग सम्बन्धित कार्यसमितिका विभिन्न पदहरुका लागि निर्वाचन हुँदैछ।

निर्वाचनको लागि यति बेला जापानमा गैर आवावीय नेपाली संघ एनआरएनएका उम्मेदवारहरु प्रचार प्रसारमा निकै व्यस्त देखिन्छन। अधिवेशन र निर्वाचनको मिति नजिकिदैं गर्दा आगामी नेतृत्वका लागि दाबेदारहरुको सक्रियता एकाएक बढेको छ भने एनआरएनए जापानको निवर्तमान कार्यसमितीका दुई उपाध्यक्षहरु सुवाष लामिछाने र सिद्धार्थ श्रेष्ठले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराईसकेका छन भने अन्य पदका उम्मेदवारहरु पनि प्रचारप्रसारमा निकै लागिपरेका छन।

जापान देखि नेपालका अनलाईन मिडियाहरुमा समचार सम्प्रेषण भैरहेका छन भने सामाजिक सन्जालमा पनि समर्थकहरुले फोटो सहित चुनावी एजेण्डाको प्रचारप्रसार गर्दै जापानवासी नेपालीहरुलाई भोटको लागि अपिल गरिरहेका छन। विगतका इतिहासलाई हेर्ने हो भने एनआरएनएको निर्वाचन धाँधलीपुर्ण भयो भन्ने कुराहरुलाई पनि स्मरण गर्न सकिन्छ।

गैर आवासिय नेपाल संघ एनआरएनए आफैमा एउटा विशुद्ध सामाजिक संस्था हो र क्षेत्रीय समिति तथा अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको पनि एउटा अभिभावक हो ।परदेशी भूमिमा कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन त्यसैले पनि यस्तै कठिन र असहज परिस्थितिको समयमा एनआरएनएले अभिभावकको जिम्मेवारी निभाएको हुन्छ।

जसरी हामीले हाम्रो देशाका सरकार र तिनका नेतृत्त्वलाई गाली र आलोचना गर्छौँ त्यसरी नै एनआरएनए प्रति पनि आलोचना मात्रै गरेको देखिन्छ तर परदेशी भूमिमा आफ्नो पेशा तथा व्यवसाय समाल्दै सामाजिकसेवा तिर लाग्ने व्यक्तिहरुलाई गालिगलौज गर्नुभन्दा पनि थप हौसला गर्न जरुरी देखिन्छ तर सामाजिक सेवा नि:श्वार्थ भावनाले गरेको हुनुपर्दछ।

यतिबेला चुनावी मैदानमा उत्रदै गर्दा दुवै उम्मेदवारहरुको चुनावी घोषणापत्र लगभग उस्तै उस्तै रहेका छन जस अन्तर्गत दुबै जनाले सार्वजनिक गरेका प्रतिबद्धता पत्रमा एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषय रहेका छन। हारजीत आफ्नो ठाउँमा छ तर आफुले प्रतिबद्धता जनाएका कुराहरुमा हार भएतापनि मिलेर योजना पुरा गर्नका लागि सक्रिय भूमिका निभाउन जरुरी देखिन्छ जसले गर्दा जापानवासी नेपालिहरुमा उम्मेदवारप्रति विश्वास र भरोसा बढ्नेछ।

यसपाली जापानमा एनआरएनएको सदस्यता लिने व्यक्तिहरु विगतका वर्षहरुमा भन्दा धेरै रहेका छन। एनआरएनएको ईतिहासमै जापानमा कुनैपनि देशमा आबद्व हालसम्मकै धेरै सदस्य संख्याको किर्तिमान जापानले बनाएको छ ।यसपाली जापानमा कुल २३ हजार भन्दा धेरैले सदस्यता लिएका छन।
यसपालि नेपाली घर निर्माणको लागि भएनि केहि सहयोग पुग्नेछ भन्ने हेतुले पनि सदस्यता लिने व्यक्त्तिहरु बढेका छन। विगतका वर्षहरुलाई हेर्ने हो भने उम्मेदवारहरुले आफै पैसा तिरेर सदस्यता बनाउने गर्दछन भन्ने हल्ला पनि सुनिन्थ्यो साथै यसपाली पनि भित्रभित्र नगरे होलन भनेर विश्वास गर्न चाहीँ सकिदैन।

२०२३-२०२५ को कार्यकालमा नविन निउरेबाट भएका केहि राम्रा र सकारात्मक काम

कुनै पनि संस्थाले गरेको काम व्यक्तिगत योगदान मात्र नभई उक्त संस्थामा आबद्ध सम्पुर्ण सदस्यहरुको पनि उत्तिकै योगदान रहेको हुन्छ तर नेतृत्त्व गर्ने व्यक्ति असल, क्षमतावन र सबैलाई मिलाएर जान सक्ने भने हुनुपर्दछ यसैकारणले गर्दा जापानमा एनआरएनए २०२३-२०२५ को कार्यकाल विगतमा भन्दा केहि सफल भयो कि भन्ने अनुभूत जापानवासी नेपालीहरुले गरेका छन। उक्त कार्यकालमा घुम्ति सेवा, एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालनको योजना , जापानमा भुकम्प पीडितहरुको लागि प्रत्यक्ष उपस्थित भएर सहयोग, विद्यार्थीहरुको समस्यामा केहि सक्रियता , विपत तथा विभिन्न क्षेत्रमा आर्थिक सहयोग लगाएत विभिन्न कामहरुले गर्दा सकारात्मक सन्देश दिएको छ। त्यसैले अब आउने नयाँ कार्यकालका व्यक्तिहरु पनि चुनावी नारा मात्र भन्दा पनि काम तिर अग्रसर भएर अघि बढ्न जरुरी देखिन्छ।

पछिल्लो समय जापानमा विभिन्न भिसामा रहेका नेपालीहरुको अवस्था

यतिबेला जापानमा विभिन्न भिसामा गरि करिब २ लाख ३० हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको छ । जापानमा विशेषगरी व्यावसायिक भिसा, वर्किङ भिसा विद्यार्थी भिसा, पारिवारिक भिसा ,स्थायी बासिन्दा भिसा ( एज्यु)र SSW भिसामा रहेका छन।

विद्यार्थी भिसामा रहेकाहरुको पछिल्लो अवस्था र एनआरएनए भूमिका

जापानमा धेरैजसो नेपाली विद्यार्थीहरुलाई भाषागत समस्या हुने भएको हुनाले सुरुमा काम पाउन निकै मुस्किल पर्ने गर्दछ त्यसैले यसलाई सहज बनाउन एनआरएनएका क्षेत्रीय समितिहरुसँगै विभिन्न सामाजिक संस्थाहरुसँग सहकार्य गरि नेपाली विद्यार्थीहरुलाई सुरुमा कामको लागि सहयोग गर्न सकेमा केहि भएपनि राहत हुने देखिन्छ।पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरुको संख्या बढेसँगै आत्महत्या देखि विभिन्न अनैतिक कार्यहरुमा पनि नेपाली विद्यार्थीहरु सक्रिय भएका घटनाहरु आइरहेका छन त्यसैले यसबारे नेपाली विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम तथा सेमिनार कक्षाहरु सन्चालन गरेर भएनि यस्ता घटनाहरुलाई न्युनिकरण गर्न एनआरएनए जापान सक्रिय हुन जरुरी देखिन्छ। जापानमा विदेशी विद्यार्थीहरुको संख्या बढेसँगै सेनमोन गाक्को तथा दाइगाकु प्रवेश साथै अध्ययन पुरा गरिसकेपछि स्युस्योकु गर्न पनि निकै चुनौती देखिएको छ त्यसैले समयसमयमा नेपाली विद्यार्थीहरुलाई लक्षित विभिन्न कार्यक्रमहरु सन्चालन गर्न जरुरी देखिन्छ।

वर्किङ भिसा अन्तर्गत नेपाली रेस्टुरेन्टमा काम गर्नेहरुको अवस्था र एनआरएनएको भूमिका

विशेषगरी जापानको अधिकांश कम्पनिहरुमा हप्तामा ८ घण्टाको दरले ५ दिन काम र २ दिन विदा दिने नियम रहेको छ तर हप्तामा ४० घण्टा भन्दा बढि भएमा त्यसलाई overTime को रुपमा पारिश्रमिक दिने गरेको पाइन्छ ।

जापानमा रहेका केहि नेपाली रेष्टुरेन्टहरुमा कर्मचारी प्रति गरिने व्यवहार , कर्मचारीहरुलाई दिने सेवा, सुविधा,तलब लगायत अन्य कुराहरु राम्रो रहेतापनि अधिकांशको हकमा भने यसो हुन सकेको छैन। विशेषगरी नेपालबाट आएको सुरुवाति समयमा सिकाईको लागि भन्दै पैसा नदिने, एकजनाबाट १२-१५ लाख सम्म रकम अशुल्ने, आएको २/३ महिनापछि कामबाट नै निकालिदिने( उक्त स्थानमा नयाँ कामदार नेपालबाट ल्याउन) , काम गरेबापत अत्यन्तै न्युन तलब दिने, हप्तामा १ दिन बिदा दिने कुनै कुनैमा बिहान काम गरेर साँझको समयमा मात्र बिदा दिने साथै कुनै कुनैमा महिनामा २ दिन मात्रै बिदा दिने गरेको कुरा सुनिन्छ यसैगरी कर्मचारीले काम गरे बापत समयमै तलब दिन किचकिच गर्ने, भिसा अवधि सकिन लाग्दा अपडेटको लागि महङ्गो शुल्क लिने, कहिलेकहीँ मादकपदार्थ सेवन गरेर कर्मचारीहरुलाई नै धम्क्याउने , पारिवारिक भिसाको लागि कागजात दिन गार्हो मान्ने , स्याकाइ होकेनमा नराख्नु लगायत विभिन्न समस्याहरु नेपाली रेस्टुरेन्टमा कार्यरत अधिकांश कर्मचारीहरुले भोग्ने गरेको सुनिन्छ।

विगतमा र अहिले पनि जापानमा रहेका नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको हकहितमा खुलेर नै मुद्दा उठाएका NRNA का उम्मेदवारहरु खासै देख्न पाईदैन किनभने अधिकांश उम्मेदवारहरु नै नेपाली रेस्टुरेन्टका सन्चालक रहेको पाईन्छ त्यसैले उनिहरुको मुद्दा लिएर अघि बढ्ने हो भने सबैभन्दा पहिले आफुले नै पालना गर्नुपर्ने हुन्छ यसकारण पनि अधिकांश उम्मेदवारहरु मौन रहेको होकी भन्ने धेरैको बुझाई रहेको पाईन्छ। आशा गरौँ यसपालिका उम्मेदवारहरुले आफ्नो जित पछि नेपाली रेस्टुरेन्टमा कार्यरत नेपाली कर्मचारीहरुको बारेमा पनि आवाज उठाउने छन।

अन्त्यमा, चुनावी घोषणापत्र र एजेण्डा निर्वाचन अघि जापानवासी नेपालीहरुको आँखामा छारो हाल्ने काम नबनोस, चुनावीघोषणा पत्र अरुले लेखेर तयार पारि सामाजिक सन्जाल रङ्ग्याउने मात्र नभएर आफ्नै मनबाट आफुले पुरा गर्न सक्छु भनि लिएका योजना र सपनाहरुको वास्तविक घर बनोस, विगतका केहि नेतृत्त्वहरुले गाडेको अविश्वासको खाडल विश्वासमा परिरण होस, वास्तविक समस्यामा परेकाहरुको लागि एउटा असल अभिभावकको जिम्मेवारी र भूमिका देख्न पाइयोस र चुनावीघोषणा पत्र घोषणा मात्र नभई कार्यन्वयन तिर पनि अघि बढेको देख्न पाइयोस।

सम्पुर्ण उम्मेदवारहरुमा जीतको लागि अग्रिम शुभकामना।
“सक्षम र योग्य व्यक्ति रोज्ने अधिकार हाम्रै हातमा छ त्यसैले सहि व्यक्ति चिनेर आफ्नो अमुल्य भोटको सदुपयोग गरौँ।”

मोहन कुँवर
सत्यवती, गुल्मी
हाल जापान ओसाका

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय