फुजी हिमाल, जापानको मात्र नभएर विश्वकै एउटा प्रतिष्ठित र सुन्दर हिमाल हो। यसको आरोहणको सपना धेरैको मनमा हुन्छ, र हाम्रो लागि यो सपना साकार पार्ने समय आएको थियो।
नेपालबाट सगरमाथालाई १७ पटक चुम्नुभएका फुर्वा तेन्जिङ शेर्पा र निर्मल श्रेष्ठ दाइ, हङकङबाट यसै वर्ष सगरमाथाको शिखरमा पुग्नुभएका आदरणीय राज गुरुङ दाइ र सुरज गुरुङ दाइ, अनि जापानमा कर्म गरिरहेका रिन्जी शेर्पा दाइ, मनिष मगरजी, म र फुर्वा शेर्पा भाइसहित जम्मा आठ जनाको टोली फुजी हिमालको सफल आरोहणका लागि तयार भयौं।

हामी २४ तारिखको बिहान टोकियोबाट फुजीको आधारशिविरतर्फ प्रस्थान गर्यौँ। यात्रा केही ढिलो सुरु भए पनि हामी सबैको मनमा उत्साहको कमी थिएन। बाटोमा हाइवेको पार्किङमा रोकेर हामीले बिहानको नास्ता र दिउँसोको खाना एकैपटक खायौं। मौसमले पनि हाम्रो साथ दियो र यात्रा सहज भयो।
आधारशिविरमा गाडी पार्किङ गरेर हामी ट्याक्सीमा पाँचौँ शिविरसम्म पुग्यौं, जहाँबाट आरोहणको बाटो सुरु हुन्छ। त्यहाँ पुग्नुअघि पानी परेको रहेछ। मनमनै पानी नपरोस् भनेर प्रार्थना गर्दै गर्दा अचानक कालो बादलले आकाश ढाक्यो र मेघ गर्जनको आवाज सुनियो। मनमा चिसो पस्यो, कतै भीषण पानी पर्ने त होइन!
हामीले आरोहण सुरु गर्यौँ। म छैटौँ पटक फुजी चढ्दै थिएँ भने अन्य सबै जनाको लागि यो पहिलो अनुभव थियो। हाम्रो टोलीको खुसी र उमङ्ग हेर्न लायक थियो। आरोहण सुरु गरेको केही समयपछि नै पानी पर्न थाल्यो। हामीले तयारी अवस्थामा राखेका रेनकोट लगाएर अघि बढ्यौँ। केही क्षणमै पानी रोकियो र मौसम खुल्यो। हामी सबैको मनमा राहतको सास आयो। अघिको मेघ गर्जन पानीको चेतावनी नभएर फुजी हिमालले हामीलाई स्वागत गर्न गरेको तोपको आवाज पो रहेछ!
ठाडो उकालो चढ्दै, थकाइ मार्दै हामी बेलुकीको ७ः३० बजे बास बस्ने ठाउँमा पुग्यौँ। ८ बजेभित्र खाना खाइसक्नुपर्ने भएकोले हामीले हतारहतार झोला राखि फुजीको ‘८५ व्यञ्जन’ भनिने जापानी करी राइस खायौँ। भोकले होला, त्यो खाना साँच्चै मीठो लाग्यो र हामीले थपेर खायौँ। समुद्री सतहबाट ३००० मिटरमा पुग्दा अक्सिजनको कमी महसुस भए पनि सबैजना खुसी थियौं। हामी चाँडै सुत्यौं किनभने भोलिपल्ट बिहान ४ः४० बजे सूर्योदय हेर्न हामीलाई शिखर पुग्नु थियो।
भोलिपल्ट सबेरै उठेर हामी शिखरतिर लाग्यौं। हामी शिखरमा पुग्नुअघि नै सूर्यदेवले हामीलाई दर्शन दिनुभयो। सुनौलो प्रकाशले फुजी हिमालको सुन्दरता अझ बढाएको थियो। सबैजना मोबाइलमा फोटो र भिडियो खिच्न व्यस्त भयौँ। सूर्यदेवको दर्शन र आशीर्वादले हामी सबैलाई सफलताको अनुभूति दियो।
हामी सकुशल बेसक्याम्प फर्कियौँ। खुसीयाली मनाउन सबैले फुजी बियर पिए, तर गुरुजी परेकोले मलाई भने रेडबुल दिइयो। यो यात्राको सफलतालाई यादगार बनाउन हामी टोकियो फर्केपछि भव्य भोजको आयोजना गर्यौं। हामी सबैले खाए, पिए, नाचे र गीत गायौं। फुजी हिमालको यो यात्रा सधैँभरि हाम्रो मनमा एउटा सुन्दर सम्झना बनेर रहनेछ।
✍️ठिले निमा शेर्पा
सोलुखुम्बु ,हाल जापान





