नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको बताउनुभएको छ । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज शुक्रवार कटारीमा सम्बोधन गर्दै उहाँले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताउनुभयो ।

पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आउँदो माघ १० गतेसम्म एक पटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । ‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ’, महामन्त्री थापाले भन्नुभयो, ‘हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।’

विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका नागरिक अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । ‘त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ’, थापाले भन्नुभयो, ‘२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न तर नागरिकलाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।’ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उहाँले बताउनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताउनुभयो । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

नेत्री डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले नागरिकको अधिकार दिन सक्यो कि सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय