
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव नियुक्त गर्दा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी डा. सङ्गीता मिश्रालाई पन्छाएर सचिव नियुक्त गरेकोमा आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यसबारेमा प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ?’, सांसद कार्कीले प्रश्न गर्नुभयो । सांसद कार्कीले संविधानमा लैङ्गिक समानताको धारा उल्लेख गरिए पनि राज्यले महिलामाथि हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको उल्लेख गर्नुभयो ।