काठमाडौं, असोज २९ । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ ।

जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघ अन्तर्गत बिभिन्न बिभागहरु सिर्जना गरी ती बिभागलाई भिन्नभिन्न पदाधिकारीले नेतृत्व गर्ने लगायतका प्रस्ताव गरिएको छ ।

यसैगरी नीति पैरवीका लागि पोलिसी इस्टिच्यूट स्थापना गर्ने र परोपकारी कामका लागि फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ । बिदेशमा रहेका नेपालीहरुलाई सो फाउण्डेसनमा रकम सहयोग गर्न सहज हुनेगरी बिदेशमा समेत एउटा फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

आइतबार सुरु भएको संस्थाको बन्दसत्रमा अध्यक्ष घलेले सो प्रस्ताव र त्यसअन्तर्गत तयार गरी संरचनाको मार्गचित्र पेश गरेका थिए ।
सो प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समयअनुकुल संस्थामा सुधार र परिवर्तन जरुरी रहेको भन्दै यो मार्गचित्रमा धेरै राम्रा प्रस्ताव आएको बताए । संघको भिजन र संरचनाका सन्दर्भमा सबै प्रस्तावहरु उत्कृट रहेको भन्दै आफ्नो पूर्ण सर्मथन रहेको जनाए । यसैगरी संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि संस्थाको सुधारका लागि ल्याइएको यो प्रस्ताव समयसापेक्ष रहेको बताए ।

हलमा सहभागी सबैजसो प्रतिनिधिले भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र देखाएको र अब यसलाई हाँसिल गर्न यो भिजनले दिएको सुझावअनुसारका संरचना बनाउनुपर्ने बताए । छलफलमा केही प्रतिनिधिहरुले सुझाव पेश गर्दै प्रस्तावलाई सम्बृद्ध बनाउन ती सुझाव समावेश गर्न अनुरोध गरेका थिए ।

संघको आठौं साधारणसभा अन्तर्गत अब भोलि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । संघको अध्यक्षमा जमुना गुरुङ, भवन भट्ट र टीवी कार्कीले उम्मेदवारी दिएका छन् ।
श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय