
३० फागुन, ओखलढुंगा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-११ मा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको को २ च १३४९ नम्बरको जिप सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटना हुँदा चालक शिवकुमार भुजेलको मृत्यु भएको हो । २१ वर्षीय भुजेल सिद्धिचरण नगरपालिका १ तलुवाका बासिन्दा हुन् ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनामा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ७ टोक्सेल घर भएका १९ वर्षका सहचालक अर्जुन गौतम घाइते भएका छन् । गौतमको ओखलढुंगा सामुदायिक अस्पताल उपचार भइरहेको प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । घाइतेको अबस्था भने सामान्य छ ।
विहान करिब साढे ३ बजेतिर जिप दुर्घटनामा परेको हो । नेपाली सेनाको गण नजिकै दुर्घटनामा परेकाले ड्युटीमा रहेका सेनाका जवानले थाहा पाउनासाथ उद्धार गरेका थिए ।