
२६ फागुन, अमेरिका । क्यालिफोर्निया शेर्पा एसोसिएसनको आयोजनामा आगामी ११ मार्च, आइतबारका दिन आयोजना गरिन लागिएको ‘लोसार साँझ’को तयारी पूरा भएको छ ।
वाइन उत्पादनमा ख्याति आर्जन गर्दै आएको अमेरिकाको सुन्दर एवं प्रसिद्ध सहर सोनोमा, क्यालिफोर्नियामा कार्यक्रम सम्पन्न हुने भएको छ । कार्यक्रमका सम्बन्धमा संघका अध्यक्ष आङ ङिमा शेपाले हामीलाई जानकारी गराउँदै भन्नुभयो, ‘हामीले दुई चरणको कार्यक्रम राखेका छौ, विहानबाट आउने पाहुनाहरुलाई दिवा कार्यक्रम तथा खानाको व्यवस्था रहेको छ ।’
‘हामीले साँस्कृतिक कार्यक्रममा रमाइलो गर्न चाहने बालबालिका, महिला एवं सञ्जनवृन्दहरुको मागलाई ध्यानमा राखी यस वर्ष दिवा कार्यक्रम सहितको आयोजना गरेका हौं,’ अध्यक्ष शेर्पाले भन्नुभयो’, डिजे कार्यक्रम, पासाङ शेर्पाको स्वादिष्ट प्रस्तुति सोनोमा ल कासा रेष्टुरण्ड एण्ड बारले प्रदान गर्ने दिवा भोज तथा काम छिरिङ शेर्पाको तर्फबाट याक एण्ड यति रेष्टुरेण्डले प्रदान गर्ने रात्रि भोजबाट लोसार साँझमा पाल्नुहुने पाहुनाहरुले फरक ढंगको आनन्द अनुभूति गर्न सक्नु हुनेछ ।’
कार्यक्रमको महत्व माथि प्रकाश पार्ने क्रममा संस्थाले वार्षिक रुपमा आयोजना गर्दै आएको लोसार कार्यक्रमबाट संस्कृतिको संरक्षण हुने र यसबाट संकलित हुने रकमबाट भविष्यमा दीर्घकालिन योजनामा खर्च गरिने सोचका साथ आर्थिक सहयोग कार्यलाई निरन्तरता दिइदै आएको जानकारी संस्थाका पूर्व कोषाध्यक्ष एवं सल्लाहकार कामी शेर्पाले बताउँनुभयो ।
हामीले आर्थिक संकलन कार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आएका थियौ, वर्तमान कार्य समितिले अनुशरण गरेकोमा अत्यन्तै खुशी लागेको छ,’ पूर्व कोषाध्यक्ष एवं सल्लाहकार शेर्पाले बताउँनुभयो ।
मनोरञ्जनका लागि विशेष गरी महिलाहरुले नाचगान कार्यक्रमको भव्य तयारी गरेको आयोजक पक्षले जानाएको छ । कार्यक्रम सोनोमा भेट्रान मेमोरियल हल,(126 1st W, Sonoma, CA 95476) विहान ११ देखि राति ११ बजे सम्म हुने भएको छ । दिवा तथा रात्रि कार्यक्रममा समावेश हुन प्रति व्यक्ति यूएस ६० डलर र रात्रि कार्यक्रमा मात्र भाग लिनलाई ३० डलर लाग्नेछ भने ८ वर्ष मूनिका बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।