लाक्पा शेर्पा
संगीतकार
विशेष गरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिको मौलिक गीत स्याब्रुमा मात्र सीमित बाजाटुङनाले नेपाली लोकसंगीतमा आफ्नै छुट्टै पहिचान स्थापित गरिसकेको छ । हिजोआज टुङ्ना नेपाली लोकगीत, स्याब्रु र सेलोमा मात्र सीमित छैन ।
सुगम संगीत, चलचित्र संगीत र पप् संगीतमा समेत आफ्नो स्थान बनाई सकेको छ । टुङनाबाट निस्किएको सरगम्ले नेपाली संगीत जगतलाई धेरै नै सघाउ पुगेको सांगीतिक स्रष्टाहरूको ठम्याई छ । टुङना आकारमा अन्दाजी अढाई फीट लामो हुन्छ भने यसको शिरतिरको भागमा अजिङ्गरको टाउकाको आकार कुँदिएको हुन्छ । टुङनामा रहेको चारवटा तारलाई कस्नका लागि घुम्रिएको टाउकाको भागमा चारवटा खुट्टीहरू हुन्छन् । यसको घाँटीदेखि तलको भागसम्म क्रमशः केही फुक्दै गएको हुन्छ । टुङनामा आधा इन्चका बराबरीमा शुद्ध र विकृति स्वरहरू मेटाउन सकिन्छ । गीतारको जस्तो पर्दा (फ्रेट) नहुने हुँदा प्रारम्भमा टुङनाको सुर पत्ता लगाउन केही कठिन हुन्छ । छालाले मोडिएको भँुडीको भागमाथि धुरी (ब्रिज) राखिएको हुन्छ । पहिला–पहिला टुङनाको तारलाई अड्काउनका लागि सानो–सानो ठाउँ र टुङनाको तार बनाउन जनावरको नशालाई प्रयोग गर्ने गरिन्थ्यो हिजोआज भने रेशमको धागो, नाइलन र स्टिलको तार पनि प्रयोग गरिएको भेट्टाउन सकिन्छ । टुङ्नाबाट सुर र ताल दुवै बजाउन सकिन्छ । विशेष गरी स्याब्रु गीत गाउँदा हिमाली भेगका कलाकारहरू गलामा टुङ्ना भिरेर गाउँदै आफ्नो कला प्रस्तुत् गर्दछन् भने सुर बाजाका रूपमा खाली धुन मात्र बजाई मनोरञ्जन लिने गरेको प्रशस्तै पाउन सकिन्छ । यसका उदाहरणहरू स्याब्रु लगायतका केही सेलो गीतमा भेट्टाइन्छ । यसैमा नै टुङ्नाको धुन बढी मात्रामा सुहाउने संगीत कलाका मर्मज्ञहरू बताउँछन् ।
वास्तवमा प्रस्तुत् टुङना नेपालमा प्रजातन्त्रको उदय हुनु अघि खासै प्रचलनमा थिएन । नेपालमा प्रजातन्त्रको उदयपछि मात्र केही मात्रामा भए पनि हाम्रो कला, संस्कृति र संगीतले स्थान पाएको कारणले गर्दा नै यसलाई नेपाली कला, संस्कृति र संगीत जगतले चिन्न र बुझ्न थालेको हुन सक्दछ । कला, संस्कृतिका शुभचिन्तक, कलाका मर्मज्ञ र संगीतज्ञहरूको प्रयासले गर्दा नै हिजोआज टुङ्ना तारबाजा मध्येका श्रेणीमा पुगेको हामी सबैलाई जानकारी भएकै कुरा हो, त्यसैको प्रतिफल आज टुङनालाई राष्ट्रिय स्तरको वाद्यमा गणना गर्ने गरिन्छ । एकल वादनदेखि लिएर वाद्यवादन समेत केही मात्रामा आफ्नो पहिचान बनाईसकेको टुङना, स्वदेशमा मात्र होइन अन्तराष्ट्रिय जगतमा समेत यसले आफ्नो कैयांै परिचयलाई स्थापित गरिसकेको छ ।
टुङना विशेष गरी दुई प्रकारको देख्न सकिन्छ । पहाडी भेगमा सानो वा मझौला किसिमको देखिन्छ भने हिमाली भेगमा ठूलो आकारको टुङना जसलाई त्यहाँका स्थानीय भाषामा ‘डामयाङ्ग’ भन्ने गरिन्छ । डामयाङ्ग आकारमा केही ठूलो हुन्छ । टुङ्नासँगै मिल्दो जुल्दो अर्को एउटा बाजा आरबाजा हो । यो बाजा पश्चिमाञ्चलका गन्धर्वहरूको हो ।
यो बाजा यिनीहरूमा मात्र सीमित छ । यसको टाउकोपट्टिको भागमा ब्रम्हाको आकृति कँुदिएको हुन्छ । टुङनाको जस्तै यसको पनि पर्दा (फ्रेट) हँुदैन, त्यस्तै यसलाई पनि टुङना जस्तै गरी कोट्याएर बजाइन्छ । नेपाली बजारहरूमा टुङना कोट्याएर बजाइने बाजाका समूहमा पर्दछ । कोट्याएर बजाइने बाजाहरूमा टुङना, डामयाङ्ग, एकतारे, दुइतारे, पाँचतारे, तानपुरा आदि पर्दछन् । यी बाजाहरूलाई विकसित गर्दै लान सके नेपाली संगीत जगतलाई एउटा बलियो टेवा पुग्ने थियो । हिजोआजका युवापुस्तामा गीतारको जुन महत्व र स्थान
छ, यी बाजाले पनि त्यही स्थान ओगट्ने थियो । तर यस विषयमा सम्वन्धित निकाय, व्यक्ति र संस्थाहरूबाट उचित ध्यान नपुगेको कारण प्रशस्त मात्रामा टुङनाले आफ्नो स्थान पाउन सकेको छैन । यो हामी सबैलाई छर्लङ्गै छ ।
टुङनालाई आजको अवस्था भन्दा माथि उठाउनका लागि प्रथमतः हाम्रो कला, संस्कृति र संगीतप्रति मोह जगाइदिनु, माया बढाइदिनु, हाल रहेका टुङनाका प्रशिक्षार्थीहरूलाई हौसला र प्रेरणा दिने कार्यक्रमहरू ल्याउनु, टुङना बजाईरहेका हालका कलाकारहरूलाई सहयोग र संरक्षण गर्दै यस विषयमा नयाँ रचनात्मक कार्यक्रमहरू बनाइनु र ल्याइनु पर्दछ ।
यदि यसो नगर्ने हो भने टुङना लगायत हाम्रो मौलिकपन बोकेको अन्य बाजा समेत पछि गएर लेख र आकृतिमा
मात्र सीमित नहणेला भन्न सकिन्न । यस्तो अवस्थाबाट हाम्रो कला, संस्कृति, संगीतलाई बचाउन हामी सबैको दायित्व हो भन्दा अत्युक्ति नहोला ।