सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। सोही आरोहण दलमा सहभागी नेपालका एक मात्रै जीवित सदस्य हुन्, कान्छा शेर्पा। सगरमाथा विजय अभियानमा सरिक शेर्पालाई नाम्चे बजारमा भेट्दा उनले ती दिन यसरी सम्झिएः
त्यतिबेला मैले न एभरेस्ट भन्ने सुनेको थिएँ, न देखेको नै थिएँ। हामी हिमालैहिमालको बीचमा जन्मेका मान्छेलाई हिमाल खोज्दै जानुपर्ने त्यस्तो कुनै आवश्यकता पनि थिएन।
मैले त दार्जिलिङ पुगेपछि मात्रै हामै्र गाउँमा विश्वको अग्लो चुचुरो सगरमाथा छ भन्ने कुरा सुन्न पाएँ। मलाई सोलुखुम्बु, थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले ‘तिम्रो गाउँमै सगरमाथा छ’ भन्ने सुनाएका थिए। म छक्क परेँ।
मैले उनलाई सोधेँ, ‘कहाँ छ हाम्रो गाउँमा सगरमाथा ?’
नोर्गेले भने, ‘त्यो माथि त्याङ्बोचेको कुनामा त छ नि एभरेस्ट।’
१९ वर्षको उमेरमा घरबाट भागेर कामका लागि दार्जिलिङ पुगेको थिएँ। र, त्यहीँ आफ्नै गाउँमा रहेको सगरमाथाको नाम सुनेँ, पहिलो पटक।
उहिलेको नाम्चे
अहिले ८५ वर्ष भएँ। पहिलेको नाम्चे अब रहेन। रहने कुरा पनि भएन। म पुरानो नाम्चेको साक्षी हुँ। यहाँको सबैभन्दा पुरानो मान्छे हुँ। सायद नाम्चेको सबैभन्दा पाको मान्छे मै हुँ। बाहिरबाट जो आए पनि मेरो कुरा सुन्न भीड लाग्छ।
उहिले नाम्चेमा खासै उत्पादन हुँदैन थियो। लगाउने कपडा पनि पाइँदैन थियो। हाम्रो मुख्य खान्की खोले थियो। खोलेसँग आलु र मुला पनि खाइन्थ्यो। तर, सबैको आलु र मुला खाने हैसियत हुँदैनथ्यो।
त्यतिबेला नाम्चेमा सडक थिएन। बस्ती पातलो थियो। बिजुली बत्ती थिएन। मट्टितेल पनि पाइँदैनथ्यो। आगो बाल्न दिनभरि दाउरा घाममा सुकाउनुपथ्र्यो।
चामल देखेका थियौँ, तर भातबारे सुनेका मात्र थियौँ। भात कस्तो हुन्छ ? देखेका थिएनौँ। भातको स्वाद कस्तो हुन्छ ? चाखेका थिएनौँ।
कसैसँग पैसा हुन्थेन। पैसा कमाउने कुनै स्रोत थिएन, आम्दानीको बाटो थिएन। खोले र आलु खायो, दिनभरि घाम ताप्यो र याक चरायो…मेरो बाल्यकाल यसरी नै बित्यो। लगाउने लुगा पनि गतिलो हुँदैनथ्यो। तिब्बतबाट आएको ऊनी र भेडाको छालाबाट तयार भएको भ्याङ्लो हुन्थ्यो। हामी त फोहोरी देखिन्थ्यौँ। फोहोरी थियौँ पनि। त्यही कपडाले सिगान पुछिन्थ्यो। त्यही कपडा लगाएर सुतिन्थ्यो। खाना खाएर त्यही कपडामा हात पुछ्ने गर्थ्यौँ । अनि कसरी सफासुग्घर भइन्थ्यो ?
घरमा झ्याल ढोका नभएको जस्तो अँध्यारो हुन्थ्यो। बत्ती थिएन। आगो फुकेर त्यही उज्यालोमा खाना पकाउनुपथ्र्यो। धुवाँले सबै चिज काला हुन्थे। मान्छे पनि धुवाँले काला हुन्थे। धुवाँले आँखा बिग्रन्थ्यो। मेरा गाउँका कति मान्छे त सानै उमेरमा अन्धा भए। उपचारका लागि अस्पताल थिएन।
काम केही पाइँदैनथ्यो। काम नभएपछि सुको आम्दानी हुँदैनथ्यो। बाउबाजेले बनाएको पुरानो घरमा बसेर जीवन गुजार्नुपर्थ्यो।
त्यतिबेला दुःख थियो, असाध्यै दुःख। बुबालाई भेट्न मोजाङका व्यापारी घरमा आउँथे। व्यापारीले मलाई भारी बोकाएर तिब्बत लैजान्थे। तिब्बतको नाङ्पाला भारी बोकेर तीन दिनमा पुगिन्थ्यो। व्यापारीले पाँच रुपैयाँ दिन्थे। त्यही पाँच रुपैयाँमा आठ पाथी नुन किनेर नाम्चे फर्कन्थ्यौँ।
नाम्चे आएर एकदुई दिन आराम गरेपछि फेरि चार पाथी नुन बोकेर खरी खोला, जुबिङ जान्थ्यौँ। नुनसँग मकै साटेर नाम्चे आउने काम हुन्थ्यो। घर छोडेर गएपछि घर नआउँदासम्म कसैसँग पनि सम्पर्क हुँदैनथ्यो। नुनसँग साटेर ल्याएको मकै पिसेर खोले खाइन्थ्यो। ढिँडो पनि खान पाइँदैनथ्यो। ढिँडो महँगो हुन्छ भन्थे।
दार्जिलिङमा तेञ्जिङ भेटिए
एक दिन भारी बोकेर हिँड्दै गर्दा मलाई थामेको एक जना मान्छेले भने, ‘के यहाँ भारी बोकेर हिँड्छौ ? दार्जिलिङ जाऊ राम्रो काम पाइन्छ। पैसा कमाउँछौ।’ ती मान्छेले दार्जिलिङमा शेर्पा भन्नेबित्तिकै सबैले माया गर्छ्न भनेर सुनाए।
घरबाट दार्जिलिङ जान दिँदैनथे। हामी तीन जना साथीले घरबाट भागेर दार्जिलिङ जाने निधो गर्यौँ। र, एक रात भाग्यौँ। हामीसँग बाटो खर्च थिएन, खानेकुरा पनि थिएन। त्यतिबेला म १९ वर्षको थिएँ।
दार्जिलिङ पुगियो। एक हप्ताजति त्यहाँ भाँैतारिएर हिँडे। त्यहाँ मेरो भेट तेञ्जिङ नोर्गे शेर्पासँग भयो। उनले भारतीय नागरिकको सहयोगमा सानो ट्रेकिङ अफिस खोलेका रहेछन्। नाम थियो, कञ्चनजंघा ट्रेक।
तेञ्जिङले मलाई घर कहाँ हो भनेर सोधे। मैले नाम्चे भनेँ। त्सपछि उनले कालो पथर जस्तै कन्चनजंग टे«क अफिस खोलेर बसेको रहेछन्। उनीसँग मेरो भेट भयो। मलाई ‘तिम्रो घर कहाँ हो’ भनेर सोधे। मैले नाम्चे भनेँ। त्यसपछि ‘कसको छोरा’ भनेर सोधे। म घरबाट भागेर हिँडेको मान्छे ! बुबाको नाम भन्न डराएँ। तर, उनले साह्रै कर गरे। तेञ्जिङ पनि थामेमा जन्मेका मान्छे रहेछन्। उनी पनि काम खोज्दै दार्जिलिङ पुगेका रहेछन्।
मैले बुबाको नाम भनेँ। उनले मेरो बुबालाई चिनेका रहेछन्। उनले मेरो बुबालाई सन् १९५२ मा एक जना स्विस नागरिकसँग तिब्बत जाँदा चिनेका रहेछन्। त्यो परिचयले काम गर्यो। उनले भने, ‘म तिमीलाई जागिर दिन्छु, मसँगै बस।’ तर, मसँगै घरबाट भागेर दार्जिलिङ आएका दुई जना साथीलाई भने उनले जागिर दिएनन्। उनीहरू कता गए, मलाई थाहा भएन।
तेञ्जिङको घरमा मैले तीन महिना खाना पकाउने, भाँडा माझने, लुगा धुने, पानी ल्याउने र दाउर खोज्ने काम गरेँ। एक दिन उनले ‘अब हामी एभरेस्ट जाने’ भने। म नाम्चेमा जन्मे पनि मलाई एभरेस्ट भन्ने थाहा थिएन। मैले उनलाई ‘एभरेस्ट कहाँ छ’ भनेर सोधेँ।
‘तिम्रै गाउँमा छ नि,’ उनले भने, ‘त्याङ्बोचे माथिको कुनामा छ।’
भक्तपुरबाट १६ दिनमा नाम्चे पुगियो
त्यसपछि तेञ्जिङसहित हामी आठ जना शेर्र्पा काठमाडौँ आयौँ। हामी काठमाडौँ आएपछि न्युजिल्यान्डबाट एडमन्ड हिलारी पनि आइपुगे। उनी अग्ला र खाइलाग्दा थिए।
हामी हिलारीसँग दुई हप्ता भक्तपुरमा बस्यौँ। त्यहाँ त्यतिबेला पातलो बस्ती थियो। हामीले त्यहाँ पाल हालेर दुई साता बितायौँ। दुई साता त्यहाँ बसेपछि हिलारीले मगाएका सबै समान आइपुगे। सामान आएपछि एभरेस्टका लागि हिँड्न सुरु गर्यौँ।
हिलारीको साथमा चार सय भारी बोक्ने कुल्ली थिए। कुल्ली कहाँका थिए ? कसैलाई थाहा थिएन। नाइकेले सबैलाई लिएर आएको थियो। नाइकेको नाम बिर्सेँ। सबै नेपाली नै थिए। आम्दानी गर्ने केही उपाय थिएन। आम्दानी हुने भएपछि सबै खुशी थिए।
भक्तपुरबाट हिँडेर नाम्चे आइपुग्न १६ दिन लाग्यो । भक्तपुरबाट नाम्लो लगाएर भारी बोकेर नाम्चे आइपुगेका थियौँ। बाटो साँघुरो थियो। दुई जना सँगै हिँड्न मिल्ने थिएन। नाम्चे आइपुगेपछि भक्तपुरबाट भारी बोकेर आएका चार सय कुल्लीलाई माथि चिसो लाग्छ भनेर फिर्ता गरियो। कुल्ली फर्केपछि थामेबाट याक लिएर हिमाल आरोहण दलका ३७ जना माथि लागेका थियौँ। थामेबाट एभरेस्ट बेसक्याम्प पुग्न छ दिन लागेको थियो।
तर, हामीसँग एभरेस्ट चढ्ने अनुमति थिएन। अनुमतिलाई हामी ‘प्रमाण’ भन्थ्यौँ। हामी ३७ जना बेस क्याम्प पुगेका थियौँ। त्यसमा दुई जनालाई मात्रै माथि जाने ‘प्रमाण’ थियो। २० जना शेर्पा र १५ जना न्युजिल्यान्डका मान्छे थिए। पालसाल हाल्ने काम सकेर हामी नाम्चे फर्केका थियौँ। उनीहरूले तीन महिनाको कार्यक्रम तय गरे पनि भक्तपुरबाट सुरु भएको एभेरस्ट अभियान ४५ दिनमै पूरा भएको थियो। तेञ्जिङ र हिलारीले ४५ औँ दिनमा विश्वको अग्लो सगरमाथा चुचरोमा पाइला टेकेका थिए।
हिलारीले छोडेको मट्टितेल
हामी नेपालीलाई तेञ्जिङले आँखा खोलिदिए। विदेशी आएपछि नै त हामीले पैसा कमाउन पायौँ। उनीहरू नआएको भए हामी अहिले पनि खोलेकै भरमा बस्नुपथ्र्यो। अहिले हजारौँ मानिस आउँछन्। गरिबले आम्दानी गर्ने अवसर पाएका छन्। भारी बोक्नेलाई पनि फुर्सद छैन।
हिलारीले हिमाल चढ्न लगेको कुनै पनि समान फिर्ता लिएर गएनन्। सबै सामान छोडेर गए। त्यसबेलासम्म नाम्चेका मानिसले मट्टितेल देखेका थिएनन्। हिलारीले कति मट्टितेल छोडेर गए, थाहा भएन। साथीहरूले पाँच वर्षसम्म त्यही मट्टितेलमा भात पकाएर खाए रे भन्ने सुनिन्थ्यो।
ती दिन अब इतिहास भइसकेका छन्। हिलारी र तेञ्जिङकै कारण खुम्बु देशको धनी गाउँपालिका बनेको छ। म धेरै खुशी छु। पहिले खोले खान पनि नपाउने म शेर्पाको छोरो प्लेन चढेर हिँड्न पाएको छु। हाम्रो गाउँ स्र्वगजस्तै भएको छ।
सौर्सा; अन्नपूर्णपोस्ट