याक पाल्नु निकै जोखिमपूर्ण काम लाग्छ कालिञ्चोकका सार्की थामीलाई । जति नै घुलमिल हुने प्रयास गरे पनि यो जन्तु उनीसँग कहिल्यै रत्तिएन । बरु आमनेसामने परे मालिकलाई नै तिखा सिङले घोचिदिन खोज्छ । चार वर्षयता याक पाल्न थालेका उनी भन्छन्, ‘याक पाल्नु बाघ पाल्नुजत्तिकै खतरा रहेछ ।’
३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा चौंरीको संख्या बढाउन थामीले ‘कमा’ र ‘खत्रे’ नामका दुई याक पालेका छन् । यो दुर्लभ जन्तु न गोठमा बस्छ, न त मान्छेको नियन्त्रण रुचाउँछ । ‘जति नै माया गरे पनि यिनलाई रत्याउन सकिएन,’ ५६ वर्षीय उनले भने, ‘अचानक यिनीहरूको अगाडि परे भागेर बाँच्नुपर्छ ।’ तर प्रजनन प्रक्रियाका लागि यिनीहरूलाई रोकेर राख्नुको विकल्प छैन । एउटा याकले तीन सयवटासम्म गाईलाई गर्भाधान गराउन सक्छ । कालिञ्चोकका दुई याकले बर्सेनि दुई सयजति औले गाईलाई ब्याउने बनाउँदै आएको थामीले जानकारी दिए । कालिञ्चोक गाउँपालिका–६ स्थित जंगलमा निश्चित घेरा हालेर ती याक छाडिएका छन् । गर्भाधान गराउने बेला भएका गाई त्यहीँ ल्याइन्छन् । एकपटक याक ‘लगाए’ बापत थामीले गाईधनीसँग सय रुपैयाँ बराबर एक पाथी पिठो ज्याला लिन्छन्
Source:Ekantipur