सृष्टि सुनुवार, सोलुखुम्बु
माग २ – ट्राफिक प्रहरी सोलुखुम्बुले हिमपातको समय सुरु भएकाले सावधानी पुर्वक गाडी चलाउन आग्रह गरेको छ । सोलुखुम्बुमा स्थानीय तथा लामो रुटमा गरी दैनिक ५० देखि ६० वटा यात्रुबाहक गाडीहरु सल्लेरीबाट प्रस्थान गर्ने भएकाले हिमपात हुने क्षेत्र तथा टुसारो जमेको बाटोमा विचार प्रयाउन आग्रह गरेको हो ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका ट्राफिक इन्जार्ज वेदलाल गौतमले विगतको समयमा भन्दा यो समयमा गति सिमित गरेर मात्र गाडी चलाउन अनुरोध गर्नुभयो । उहाँले दुर्घटनाको क्षति ट्राफिक प्रहरीलाई नभई व्यक्ति स्वयमंलाई हुने भएकाले आफ्नो पेशामा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच सोलुखुम्बुमा विभिन्न क्षेत्रमा सडक विस्तार भए सँगै ट्राफिक जनशक्ति थप हुने भएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयमा इटहरीमा थप जनशक्तिको लागि माग गरिएको गौतमले जानकारी दिनुभयो । सोलुखुम्बुमा उपलब्ध जनशक्ति अनुसार ट्राफिक नियम पालना गराउनका लागि आफुहरु लागि परेको उहाँको भनाई छ । यहाँका स्थानीय एवं सरोकारवालाले समेत ट्राफिकलाई सहयोग गर्नुपर्ने गौतमले बताउनुभयो ।
नियमित चेकजाँच तथा छड्के जाँच गर्ने क्रमलाई कडाई गरिएपछि ट्राफिक नियम उल्लघनका घटनामा कमी आएको उहाँको भनाई छ । पछिल्लो समय मादक पदार्थ सेवन गरेर गाडी चलाउनेहरुको संख्यामा समेत कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । चाडपर्वको मौकामा यात्रुहरुबाट बढि भाडा अशुल्ने गरिएको भन्ने जनगुणासो बढेपछि यसतर्फ आफुहरु सचेत रहेको ट्राफिक प्रहरी नारायण बस्नेतले बताउनुभयो ।
बढि भाडा लिने साथै सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई हुन सक्ने दुव्यवहारमा घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न आफुहरु तत्पर रहेको बस्नेतको भनाई छ । उहाँले यात्रुहरुले त्यस्ता किसिमका समस्या भए ट्राफिक प्रहरी पोष्ट तथा जिल्ला प्रहरी कार्यालयको हट लाइन नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।
सल्लेरी सदरमुकामका स्थानियले भने सवारी साधन रिर्जब दिने नाममा यात्रुहरु ठगिएको, बसपार्कको प्रभावकारी उपयोग नभएको, जथाभावी पार्किङ बढेको, निमार्ण सामाग्री सडक छेउछाउमा राखिएको भन्दै यसतर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने माग गरेका छन् ।
-radio solu

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय