मुस्ताङ, मंसिर १० । आज भएको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा मुस्ताङका बिभिन्न मतदान केन्द्रमा ४ बजेसम्म ७० प्रतिशत मत खसिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हरेक मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।
उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रमा स्ट्याम्प प्याडमा मसी जमेको कारण केहीबेर मतदानमा ढिलाइ भएको थियो । लोमन्थाङ गाउपालिका–१ मा रहेको मतदान केन्द्र निफुक नामडोल नोर्वुलिङ गुम्बा मतदान केन्द्रमा चिसोका कारण स्ट्याम्प प्याड जमेपछि तताएर मतदान कार्य सुचारु भएको छ ।
उपल्लो मुस्ताङमा अत्यधिक चिसो भएपनि मतदाताहरु बिहानैबाट भोट दिन लाइनमा बसेका छन् । जाडो छल्न पोखरा, काठमाडौलगायतका स्थानमा गएका मतदाताहरु जहाजबाट सदरमुकाम जोमसोम आएका छन् ।
कतिपय मतदाता घण्टौं हिंडेर मतदान केन्द्र पुगिरहेका छन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् ।
श्रोत इकान्तिपुर
मुक्तिनाथ माध्यमिक विद्यालय मतदान केन्द्रमामा मतदान गर्न आएका मतदाताहरु ।