सोलखुुम्बु : ओखलढुंगामा आज (सोमबार) विहान भएको बोलेरो दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ । सोमबार बिहान चम्पादेवी ककनी दर्शन गर्न हिडेका तिर्थालु बोकेको प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये ३ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेले सोलु एफ.एम.लाई जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगर रहेका छन् ।
तुलसा, मिठुमाया र खगेन्द्रको घटना स्थलमै र शान्तमायाको उपचारको क्रममा ज्यान गएको ओखलढुंगा प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाईते भएका छन् । गम्भिर घाईते भएका सिद्धिचरण नगरपालिका १० बेतीनीका बुनु माया मगर , रेजिना मगर, अन्जु थापा मगर र सुनकोशी गाउँपालिका ७ का सुमन बोगटीलाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ ।
उनीहरुको महाराजगञ्ज स्थित हेम्स हस्पिटलमा उपचार भईरहेको छ । अन्य घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । १८ जना सवार बोलेरोमा सडकबाट करिब ६ सय मिटर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्लाको सुनकोशी गाउँपालिका ९ र चम्पादेवी गाउँपालिका ९ को सिमानामा पर्ने ककनी मन्दिरमा वर्षेनी एकादशीका दिन मेला लाग्ने गर्दछ । एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुंगा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बु लगायतका स्थानबाट भक्तजनहरु जाने गरेका छन् ।
-solu FM