तामाङ सेवा केन्द्र-नेपालको अध्यक्षमा तेकेबहादुर तामाङ निर्वाचित भएका छन् । बुधवार सुबिगाउँ, बौद्धस्थित संस्थाको कार्यालयमा सम्पन्न २२औँ साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान कार्यसमितिमा उनी महासचिवको जिम्मेवारीमा थिए ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा फूर्वा डुम्जन तामाङ, द्वितीय उपाध्यक्षमा हरिबहादुर तामाङ, महासचिवमा मीठू तामाङ, सचिवमा दावा तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ निर्वाचित भए । यसै गरी सदस्यहरूमा पासाङकाजी तामाङ, धनबहादुर तामाङ, नारायणकुमार लामा, दोर्जी तामाङ, मिलनदेवी तामाङ, रामबहादुर तामाङ, धनकुमार तामाङ, सुने तामाङ र हिमाल तामाङ चयन भएका छन् ।

संस्थाको संरक्षक संरक्षक समिति संयोजकमा पाल्देन तामाङ तथा सदस्यमा कर्णबहादुर तामाङ, फूर्वा पाख्रिन तामाङ, निमा तामाङ, रत्नकुमार तामाङ, आङपासाङ तामाङ र ङिमादावा तामाङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष अम्बर बमजन तामाङले खादा ओढाएर बधाई ज्ञापन गर्दै कार्यभार हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले संस्थाको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

यसअघि साधारण सभाको बन्द सत्रमा निवर्तमान महासचिव तेकेबहादुर तामाङद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०८९/८० को प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीठू तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

यसअघि साधारण सभाको उद्घाटन सत्रमा संस्थाका पूर्व अध्यक्ष कर्ण तामाङ, संरक्षक पाल्देन लामा, ङिमा तामाङलगायतले शुभकामना मन्तव्य राख्दै संस्था स्थापनादेखि गुम्बा निर्माणसम्ममा गर्नुपरेको सङ्घर्ष सुनाएका थिए । नयाँ कार्यसमितिले संस्थालाई थप क्रियाशील बनाउने अपेक्षा उनीहरूले व्यक्त गरे ।

निवर्तमान अध्यक्ष बमजनले आफ्नो १२ वर्षे नेतृत्वकालमा संस्थाको नियमित कार्यसँगै गुम्बा निर्माण सम्पन्न गरिएको जानकारी दिए । आर्थिक मन्दीको समयमा पनि संस्थाको लक्ष्यअनुसार गुम्बा सम्पन्न गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । परिवर्तित अवस्था र सदस्यहरूको आवश्यकताअनुसार संस्थालाई अगाडि बढाउन नयाँ कार्यसमिति सक्षम हुने विश्वाससमेत उनले व्यक्त गरे ।

सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखालगायत जिल्लाबाट काठमाडौँमा आएर बसेका तामाङहरू आबद्ध यस संस्थाको सुबिगाउँमा आफ्नै भवन र गुम्बा रहेको छ । संस्थाले विभिन्न धार्मिक तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको निवर्तमान अध्यक्ष बमजनले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय