बोम्जन गुरुङ, २६ नोभेम्बर २०२१, सउल कोरिया, तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको नियमहरु सार्वजनिक भएको छ । आउँदै गरेको तमू (गुरुङ) समुदायको महान् पर्व तथा नयाँ वर्ष तमू ल्होसार (पौष पन्ध्र) को अवसरलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गरिने भएको हो ।
प्रतियोगिता मार्फत तमू समुदायभित्र रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने, नयाँ प्रतिभाको खोजी र प्रोत्साहनसँगै मौलिक सँस्कृति र पहिचान विश्वसामु फैलाउनुको साथै जातीय अस्तित्व संरक्षण साथै सम्बर्द्धनमा टेवा पुर्याउनु सो प्रतियोगिताको मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्नेले क्रमशः पचास हजार रुपैंया, तीस हजार रुपैंया, पन्ध्र हजार रुपैंया सहित आकर्षक ट्रफी र सम्मान पत्र प्राप्त गर्नेछन् भने भेषभूषा प्रस्तुतिको आधारमा उत्कृष्ट एकजनाले दश हजार रुपैंया र सम्मान पत्र हात पार्नेछन् । प्रतियोगितामा सहभागिताका लागि यही नोभेम्बर २५ देखि डिसेम्बर २५ सम्म खुल्ला गरिएको छ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण नियम र जानकारीहरु सार्वजनिक गर्दै सहभागिताका लागी सम्बन्धित सबैलाई तमू धीं दक्षिण कोरियाले अनुरोध गरेको छ ।
विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताका नियमहरु यसप्रकार छन् ।
१. नतिजा घोषणा एकै चरणमा गरिने यस प्रतियोगितामा तमू समुदायका जुनसुकै उमेर समूहले एकल वा सामूहिक रूपमा नि:शुल्क सहभागिता जनाउन सक्नुहुनेछ ।
२. नृत्य तमू भाषाको गीतमा, मौलिक भेषभुषामा हुनुपर्नेछ । मौलिकपन झल्किने (घाँटु , कौडा, चुट्का, मारुनी, सोरठी, सालैजो) मा पनि प्रस्तुति दिन सक्नुहुनेछ । भिडियो कम्तीमा २ देखि बढीमा ३ मिनेटको हुनुपर्नेछ ।
३. प्रतियोगिले भिडियो बुस्ट गरेको पाईएमा प्रतियोगिताबाट हटाइनेछ र पोष्ट भएको भिडियोलाई लाईक, ट्याग, मेन्सन, शेयर गर्नका लागि अनिवार्य हाम्रो फेसबुक पेज लाईक गर्नुपर्नेछ ।
४. कलाकरिता क्षेत्रमा ख्याति प्राप्त र पुरस्कृत भइसकेकाहरूलाई भन्दा नयाँ प्रतिभाहरूलाई विशेष प्राथमिकता दिईनेछ । अन्य कार्यक्रम र प्रतियोगिताहरूमा पोष्ट भईसकेको र सम्पादन (इडिट) गरेको भिडियोलाई मान्यता दिइनेछैन ।
५. हाम्रो अधिकारिक फेसबुक पेजबाट पोष्ट भएको भिडियो भ्यूजको ५०% र आयोजकको ५०% निर्णयको आधारमा विजेता तमू ल्होसार कार्यक्रमको अवसर पारेर २०२२ जनवरी २ तारिखमा हाम्रो पेज (तमू धीं दक्षिण कोरिया) बाट प्रत्यक्ष प्रशारण मार्फत घोषणा गरिनेछ ।
६. प्रतियोगितामा आयोजकको ५०% भूमिका राखिएको हुँदा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
७. प्रतियोगीको लागी यही २६ नोभेम्बर देखि डिसेम्बर २५ सम्म सहभागिता खुल्ला रहनेछ भने २०२१ डिसेम्बर ३१ कोरियाको राती १२:०० बजेसम्मको भ्यूज गणना गरिनेछ । भिडियो tamudhinkorea@gmail.com वा +८२१०-९१०६-२५७२ मा भाईबर, वाट्सएप मार्फत पठाउनुपर्नेछ ।